प्रस, वीरगंज, ६ मङ्सिर/
परवानीपुर गाउँपालिका–५, बाराका काङ्ग्रेस कार्यकर्ताले सोमवार पत्रकार सम्मेलन गरेर गापाको बुथ समिति निर्माणमा धाँधली भएको आरोप लगाएका छन् ।
गापा एकाइ सभापति कुञ्जबिहारीप्रसाद कुर्मीको सहभागितामा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको हलमा आज भएको पत्रकार सम्मेलनमा सहभागी क्रियाशील सदस्यहरूले निर्वाचन विधि नअपनाएर आफूखुशी गोप्यरूपमा निर्णय भएको आरोप लगाए । निर्वाचन अधिकृत राजन दाहालको एकल निर्णयबाट बुथ कमिटीहरू गठन भएको उनीहरूले आरोप लगाए ।
सदस्यता विवाद सम्बन्धमा आफूहरू केन्द्रीय कमिटीमा अनशन बसेको र १२औं तथा १३औं महाधिवेशनमा क्रियाशील सदस्य रहेकाहरूलाई मात्रै मतदान गर्ने अधिकार दिएको भएपनि नौजनाको सदस्यता गोप्यरूपमा थपिएको हुँदा सो सच्याउनुपर्ने पनि माग गरे ।