प्रस, निजगढ, ४ मङ्सिर/
नेपाल कम्युनिस्ट पार्टी एमाले निजगढ नगर कमिटीको शुक्रवार प्रथम नगर अधिवेशनमा नेताहरूको भाषण, गीत, नाच मात्रै सुनेर दिक्क भएका र मनोरञ्जन लिएका कार्यकर्ताहरूमा निशारा छाएको छ ।
तोकिएको मितिमा नेकपा एमाले निजगढ नगर कमिटीको पदाधिकारी चयन गर्ने दुई दिनअघि पत्रकार सम्मेलन गरी जानकारी दिए पनि हिजो दिनभर भाषण, नाचगान र रात परेपछि पदाधिकारी चयन गर्न थालिए पनि आज पनि चयन हुन सकेन । पदाधिकारी चयन नभएर अनिश्चित भएसँगै यहाँका एमाले कार्यकर्ताहरूमा निराशा छाएको छ ।
नगर कमिटी अध्यक्षमा पूर्वअध्यक्ष दिलबहादुर लामा, जयराम कुमर, सुरथ पुरी, तिलक घलान, थानेश्वर सापकोटाको दाबेदारी रहेको र कोही पनि पछि नहटेकाले सहमति हुन नसकेको हो ।
निजगढ नगरको भूगोलको आधारमा सदस्य ३९, दलित कोटा सदस्य ३, महिला खुला सदस्य ९, पुरुष खुला सदस्य १३ र थप सदस्य ६ जना मनोनीत गर्ने कुरामा सहमति भएको तर अध्यक्षमा कुरा नमिलेर सर्वसम्मत हुन नसकी अधिवेशन लम्बिएको बताइएको छ । नगर कमिटी ७५ सदस्यीय हुने यसअघि नै पत्रकार सम्मेलनमा जानकारी दिइसकिएको थियो ।
हिजो अधिवेशनको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले गरेका थिए। कार्यक्रममा एमाले नेता केशव बडाल, प्रभु साह, अच्युत मैनाली, ज्वाला साह, बलवीर चौधरी, पुरुषोत्तम पौडेल, कोमल वलीलगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेकपा एमालेको यही मङ्सिर १०–१२ गते चितवनमा दशौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ ।