प्रमोद यादव, पचगावाँ,४ मङ्सिर/
पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिका सञ्चालक शिवजीप्रसाद गुप्ताले दुई महीनाभित्र प्रदूषण रोक्ने गरी काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
सो उद्योगबाट निस्कने प्रदूषणले गाउँ नै दुर्गन्धित भएको भन्दै स्थानीयवासीले शनिवार ह्याचरीअगाडि धर्ना दिएपछि सञ्चालक गुप्ताले लिखित प्रतिबद्धता जाहेर गरेका हुन् । उनले दुई महीनाभित्र प्रदूषणविरुद्ध काम गर्न नसकेको खण्डमा कानूनी बाटो अवलम्बन गर्दा आफ्नो आपत्ति नहुने बताए ।
वडाध्यक्ष विजय गैरेले ह्याचरीबाट फैलिएको प्रदूषणबारे सञ्चालकलाई बारम्बार पत्राचार गरिएको तर बेवास्ता गरिएको आरोप लगाए । उनले अब दुई महीनामा समस्या समाधान नभए गापाले कानूनी बाटो अवलम्बन गर्ने बताए ।
स्थानीय नौसाद अन्सारीले ह्याचरीबाट फैलिएको प्रदूषणबाट वातावरण प्रदूषित हुनुका साथै बालीनालीमा पनि प्रभाव पार्दै आएको बताए । अर्का देवराज रामले प्रदूषणबारे उद्योगलाई बारम्बार ध्यानाकर्षण गराएको तर वास्ता नगरेको बताए । स्थानीयवासीले आज ह्याचरीमा धर्ना दिएपछि स्वास्थ्य चौकीमा छलफल भएको थियो ।