प्रस, वीरगंज, ३ मङ्सिर/
सामुदायिक प्रहरी साझेदार कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा शुक्रवार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका क्षेत्रलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले पन्ध्रदिने ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको र आज आठौं दिन आदर्शनगरमा सो कार्यक्रम गरेको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए । आजको कार्यक्रममा मोटरसाइकल, स्कुटी चालकहरूलाई दुर्घटना सम्बन्धी जानकारी गराइएको थियो ।
करीब एक हजार पम्पलेट वितरण भएको र सोही अनुरूप सवारी चालकहरूलाई सचेतना गराइएको अध्यक्ष खेतानले बताए । सवारी दुर्घटनाबाट जोगिन हेलमेटको प्रयोग, मदिरा, लागूऔषध सेवन गरी सवारी साधन नचलाउने, लाइसेन्स नभएकालाई सवारी साधन चलाउन नदिने, सवारी साधन चलाउँदा राति पशु, चौपाया, खाल्डाखुल्डीबाट जोगिएर चलाउने, ट्राफिक नियम र सङ्केतको पालना गर्नेलगायतका पम्पलेटमा उल्लेख छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रनानि दीपेन्द्र साह, प्रहरी चौकी आदर्शनगरका प्रनानि हीराबहादुर बुढाथोकीलगायतको सहभागिता थियो । ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक नियमसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमबारे पर्चा र माइकिङबाट पनि सचेतना गराउँदै आएको छ ।