काठमाडौं, ३० कात्तिक/रासस
नेपाल प्रहरीका आठजना प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिश भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिश समितिका अनुसार जनपद प्रहरी समूहतर्फका उनीहरूलाई सोमवारको निर्णय अनुसार बढुवाका लागि सिफारिश गरिएको हो । गृह सचिवको नेतृत्वमा सिफारिश समिति रहेको हुन्छ ।
एसएसपीमा बढुवा सिफारिश हुने प्रहरी अधिकृतमा काठमाडौं उपत्यका प्रहरी शिक्षालयका विकासराज खनाल, प्रदेश नं १ प्रहरी कार्यालयका सुदीप राजभण्डारी, मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका राजेन्द्रसिंह खड्का छन् ।
यस्तै, लुम्बिनी प्रदेश दङ्गा नियन्त्रण प्रहरी गणका योगबहादुर पाल, काठमाडौं उपत्यका प्रहरी कार्यालयका टीकाबहादुर केसी, प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालका ध्रुवराज राउत र काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणका भोलाबहादुर रावलको पनि एसएसपीमा बढुवाका लागि सिफारिश गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।