प्रस, पोखरिया, २९ कात्तिक/

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अबको अन्तिम लडाइँ सिंहदरबारविरुद्ध गरिने उद्घोष गरेका छन् ।

पर्साको विन्ध्यवासिनी गाउँपालिका–१ मा सोमवार आयोजित कार्यक्रममा नेता महतोले मधेस र मधेसीको अधिकारको लागि पटक–पटक आन्दोलन गर्दै आए पनि अहिलेसम्म मधेसी, दलित, जनजाति, मुस्लिम, थारूलगायत अधिकारबाट वञ्चित नै रहेकाले आगामी आन्दोलन सबैखाले अधिकारका लागि अन्तिम हुने ठोकुवा गरे । उनले कार्यकर्ताहरूलाई भने– अन्तिम आन्दोलनको तयारीमा जुट्नुहोस्, अबको आन्दोलन मधेस केन्द्रित हुँदैन, सिंहदरबार केन्द्रित हुन्छ र सबैको अधिकार सुनिश्चित भएपछि मात्र रोकिनेछ ।

कार्यक्रममा लोसपा प्रदेश २ का संयोजक जीतेन्द्र सोनलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध विषवमन गरे । उनले यादवले माधव नेपाल र प्रचण्डसँगको मिलेमतोमा पटक–पटक धोखा दिंदै आएको भन्दै उनलाई बहुरुपिया भएको आरोप लगाए । प्रदेश २ का मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनले माग गरे ।

अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापामारी गरी दोषी प्रमाणित गरिसकेको अवस्थामा उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै उनले सोही मञ्चबाट मुख्यमन्त्रीको राजीनामा माग पनि गरे ।

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम झाको अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका नेता एवं सांसद लक्षमणलाल कर्ण, प्रदेशसभा सदस्यहरू प्रह्लाद गिरी, रमेश कुर्मी, शिव पटेल, रम्भा मिश्र, रामचन्द्र पडित, शशिकपूर मियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमोद तिवारीले स्वागत र ओमप्रकाश सर्राफले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here