प्रस, वीरगंज, २९ कात्तिक/

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै देशव्यापीरूपमा आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरूको आन्दोलन सोमवार दोस्रो दिन पनि जारी रह्यो ।

न्यायालयभित्र न्यायिक शुद्धीकरणको माग गर्दै उच्च अदालत बार एशोसिएशन वीरगंज र पर्सा जिल्ला अदालत बार एकाइले केन्द्रीय बारको निर्देशन पालना गर्दै दोस्रो दिन पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ । पर्सा बार र उच्च अदालत बारसँग आबद्ध कानून व्यवसायीहरूले सोमवार पनि बिहान ११ देखि मध्याह्न १२ बजेसम्म केन्द्रीय बारको निर्देशन अनुसार धर्ना दिएको उच्च अदालत बार वीरगंजका सचिव शैलेन्द्र चौरसियाले बताए ।

पर्सा जिल्ला अदालतमा बार एकाइका अध्यक्ष ओमप्रकाश साह र जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजमा उच्च बारका अध्यक्ष प्रमोदप्रसाद साहको नेतृत्वमा धर्ना कार्यक्रम सम्पन्न भएको हो । कात्तिक २८ देखि ३० गतेसम्म तीन दिने एक घण्टा धर्ना कार्यक्रम रहेको छ।

यसैबीच, प्रधानन्यायाधीश जबराले सोमवार विज्ञप्ति जारी गर्दै समस्याको समाधान संवादबाट गर्न आह्वान गरेका छन् । दुई पेज लामो विज्ञप्तिमा उनले हालको घटनाले न्यायपालिकाको पवित्रता, गरिमा एवं न्यायिक सर्वोच्चताको विरासतमा गम्भीर प्रश्नचिह्न खडा भएको भन्दै जनताको न्यायिक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायपालिकासँग मात्र सुरक्षित रहेको तथ्यलाई हृदयङ्गम गरी विग्रहको बाटो छाडेर समस्या समाधानको लागि संवादको मार्ग रोज्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here