मोगादिसु, २९ कात्तिक/सिन्ह्वा
सोमालियामा खडेरीका कारण खाद्य सङ्कट परेको छ ।
यहाँ अहिले पनि नागरिकले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ । सोमालियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य सङ्कटबारे जानकारी दिएको छ ।
मानवीय सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले सोमालियामा आगामी सन् २०२२ को मे महीनासम्म यहाँको खाद्यान्न अभाव झन् बढ्ने जनाएको छ । समयमा पानी नपरेका कारण देशव्यापीरूपमा सुक्खा परेको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ ।
साथै सो संस्थाले सन् २०२२ को मे महीनासम्म कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ । खडेरीका कारण नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य सङ्कट बेहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन, त्यसैले उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
सोमालिया सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरूसँग परामर्श गरी खडेरीका कारण खाद्य सङ्कट पर्न गएको घोषणा गरेको थियो । सोही कारण संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरूलाई आग्रह पनि गरेको छ । सो निकायले आवश्यक सहयोग गर्न नसक्ने हो भने यहाँको अवस्था गम्भीर हुने बताएको छ । रासस