ओखलढुङ्गा, २९ कात्तिक/रासस
तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीनजनाको घटनास्थलमैं मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को शिकारीडाँडामा सोमवार बिहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।
जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१० बेतिनी रूप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एकजनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन ।
प्रहरी प्रमुख काफ्लेले बलेरोमा १८ जना सवार रहेका र बलेरो सडकबाट करीब ६०० मिटर तल झरेको बताए । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको सुनकोशी–९ का अध्यक्ष झनककुमार कार्कीले जानकारी दिए । दुर्घटनालगत्तै प्रहरी चौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको सुनकोशी–९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ ।
एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायत स्थानबाट भक्तजन आउने गरेका छन् ।