राधेश्याम पटेल, वीरगंज, २८ कात्तिक/
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंज, गण्डकको नहरको संरचना भत्काएर सघन शहरी भवन कार्यालय वीरगंजले पक्की सडक निर्माण गरिरहेको घटना सार्वजनिक भएको छ ।
गण्डक नहरको ब्लक नं ७ को मेन सेकेन्डरी क्यानल (एमएससी)को संरचना भत्काएर १० मिटर चौडा नालासहितको कालोपत्रे सडक निर्माण कार्य हुन थालेको हो । वीरगंज महानगरको वडा नं १५ लक्ष्मनवादेखि नेशनल मेडिकल कलेजसम्मको करीब साढे चार किलोमिटर लम्बाइको नहरको पैनी भत्काएर ठेकेदारले काम शुरू गरेपछि नारायणी सिंचाइका अधिकारीहरू आज आइतवार साइटमा गएर अवलोकन गरेका छन् ।
स्रोतका अनुसार चार वर्ष पहिले ठेक्का लागेको सघन शहरी तथा मझौला आयोजना अन्तर्गत वीरगंज महानगरका ९ वटा वडाभित्र ५२ किलोमिटर नालासहितको सडक निर्माण कार्यको ठेक्का लागेको थियो । अहिले उक्त आयोजनाको काम अधिकांश वडामा सुस्त र अपूरो छ । लक्ष्मनवाको काम वीरगंजका ठेकेदार अनिल गुप्ता सञ्चालक रहेको महावीर कन्स्ट्रक्शनले ठेक्का लिएर गरिरहेको छ ।
दीपावली र छठको सार्वजनिक बिदाको अवसर पारी ठेकेदार पक्षले नहरको संरचना भत्काएको र नहरको डिलमा रहेको सिसौंका रूख पनि काटेकोले यो दुःखद कार्य भएको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रशुन मिश्रले जानकारी गराए ।
उनका अनुसार नहरको संरचनाको लागि विसं २०३० सालमा सिंचाइ कार्यालयले साढे चार किलोमिटर लम्बाइ र १३ मिटर चौडाइ भएको जग्गाको मुआवजा दिएर अधिग्रहण गरी किसानको खेतमा सिंचाइ गर्दै आएको थियो । उक्त नहरबाट हजारौं बिघा खेत सिंचाइ हुँदै आएकोमा अहिले सडक निर्माण भएपछि सयौं किसान मारमा पर्ने देखिन्छ ।
नारायणी सिंचाइका इन्जिनीयर सुबोध कुशवाहाले यसबारेमा स्थानीय प्रशासन, वीरगंज महानगर र अन्य सरोकारवाला निकायलाई पत्राचार गरी गैरकानूनी तरीकाले भइरहेको निर्माण कार्यमा रोक लगाउने र बाँकी कारबाहीको लागि माथिल्लो निकायलाई तस्बिरसहित सिफारिश गर्ने बताए ।
महानगरले जग्गा अधिग्रहण गरी सडक तथा भौतिक पूर्वाधार बनाउनुपर्नेमा सरकारी संरचना विनाश गरी सडक निर्माणको लागि शहरी भवनलाई काम गर्न लगाउनु दुःखद भएको नारायणी सिंचाइका अधिकारीहरूले बताए ।
यस विषयमा वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले वीरगंज महानगरका थुपै्र ठाउँमा नहर पुरेर सडक बनाइएको उदाहरण पेश गरे । उनले जुन ठाउँमा नहरको पानी नै आउँदैन, त्यस संरचनामा सडक निर्माण भयो भने स्थानीयलाई आवतजावत गर्न सहज हुने भनेर विकास योजना अघि बढाएको प्रतिक्रिया दिए ।