प्रस, वीरगंज, २८ कात्तिक/
नेपाल रेडक्रस सोसाइटीको विधान संशोधन अधिवेशन अनिश्चितकालको लागि स्थगन भएको छ ।
काठमाडौंमा कात्तिक २८ र २९ गते दुई दिन राखिएको विधान संशोधन अधिवेशन विवादका कारण अनिश्चितकालको लागि स्थगन भएको हो । गत साउन १२ गते केन्द्रीय कमिटीको म्याद समाप्त भएको थियो । रेडक्रसको विधान अनुसार केन्द्रीय कमिटीले एक वर्ष म्याद थप गर्न र सो अवधिमा पनि अधिवेशन हुन नसक्दा तीन महीना थप गर्न सक्ने प्रावधान छ ।
सोअनुरूप दुवै अवसर सकिएर अधिवेशन हुन नसकेपछि यही कात्तिक ३ गते केन्द्रीय कमिटीको म्याद समाप्त भएको थियो । केन्द्रीय कमिटी तदर्थ समितिमा परिणत भएको अवस्थामा अध्यक्ष डा नेत्रप्रसाद तिमल्सिनाले कात्तिक २५ गते देशभरका १६ वटा जिल्ला र दुईवटा प्रदेश भङ्ग गरी नयाँ तदर्थ समिति गठन गरेका थिए । सो कार्यविरुद्ध महामन्त्री पीताम्बर अर्यालले कात्तिक २५ गते अध्यक्षले गरेको निर्णय कार्यान्वयन नगराउन भनेर १६ वटा शाखा र दुईवटा प्रदेशमा पत्राचार गरेका थिए ।
आजको विधान अधिवेशन स्थगन हुनुअगावै बसेको केन्द्रीय कमिटीको बैठकले महामन्त्रीको निर्णय विषयमा कुनै उठान नगरेको हुँदा उनको पत्र आधिकारिक भएको एक पक्षले ठहर गरेको छ ।
पर्सा जिल्लामा विवाद
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामा पनि विवाद देखिएको छ । वर्तमान अध्यक्ष वीरेन्द्रराज कँडेलको निर्वाचित कार्यसमिति भङ्ग गरी केन्द्रीय अध्यक्ष डा तिमल्सिनाले बृजकिशोर पटेलको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति घोषणा गरेका थिए तर उनको सो घोषणाविरुद्ध महामन्त्रीको पत्रले रोक लगाएको छ ।
यसैगरी, उच्च अदालत वीरगंज इजलासमा पर्सा जिल्लाको निर्वाचित कमिटी भङ्ग नगर्न भनी कात्तिक २३ गते परेको रिटमा कात्तिक २६ गते निर्वाचित कमिटी भङ्ग नगर्न आदेश दिएको छ ।