प्रस, रौतहट, २८ कात्तिक

कार दुर्घटनामा चारजनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डस्थित झुनखुनवा गाउँनजीक शनिवार राति १० बजे भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो।

चन्द्रनिगाहपुरबाट गौर आउँदै गरेको युके १२ सी २९०० नम्बरको सुजुकी स्वीफ्ट कार सडकबाट करीब २० मिटर तल खाल्डोमा खस्दा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए ।

प्रहरी घटनास्थलमा पुग्दा चारैजनाको मृत्यु भइसकेको थियो । गाडीमा चारजना सवार रहेको र चारैजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान खुल्न नसकेको तर उनीहरूबाट फेला परेको कागजात अनुसार मृतक सबै भारतीय नागरिक देखिएको उनले बताए।

दुर्घटनाग्रस्त कार राति नै प्रहरीले क्रेनको सहयोगले पानी भरिएको खाडलबाट निकालेको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउन भारतीय प्रहरीसँग समन्वय भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोरियाले बताए ।

प्रारम्भिक अनुसन्धानबाट गाडीमा सवार सबैले अत्यधिक मदिरासेवन गरेको र चालकले पनि मदिरासेवन गरेको खुलेको छ । मदिराकै कारण सवारी दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here