प्रस, निजगढ, २८ कात्तिक/

करैयामाई गाउँपालिकाकी ९५ वर्षीया सरस्वती चौधरी सामाजिक सुरक्षा भत्ता लिन बस चढेर जान पाउँदा निकै खुशी देखिइन् । उनी बस नचढेको पनि वर्षौं भएछ । वडाका थुप्रै वृद्धवृद्धासँगै एउटै बसमा चढेर बैंकसम्म पुगी सहजरूपमा भत्ता पाएकोमा त्यसै वडाका अध्यक्ष सुरेन्द्र साहलाई आर्शीवाद दिनसमेत उनले भ्याइन् र भनिन्– यसरी नै हामी जस्तै सबै जनतालाई सेवा दिई रहनु बाबु । उनले महीनाको चार हजार भत्ता पाउँछिन् ।

त्यसैगरी, सोही वडाकी अर्की ८५ वर्षीया रामकली कुर्मिनी पनि हातमा भत्ता रकम र बस चढ्न पाएकोमा मनमनै प्रफुल्ल थिइन् । वृद्ध भएकीले बस चढेर अन्यत्र जान छाडेकोले वडाध्यक्षले हाम्रो सेवाका लागि बस चढाएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएकोमा उनले पनि धन्यवाद दिइन् ।

युवा जनप्रतिनिधि एवं वडाध्यक्ष सुरेन्द्र साहले वडामा चुनाव जीतेसँगै सडकलगायतका अन्य विकास कार्य आफैं खटेर गरेपछि वडावासीको नजरमा विकासप्रेमी जनप्रतिनिधिको छवि बनाउन सफल भएको उनीहरूले बताए ।

त्यसैगरी, सोही वडाका ८२ वर्षीय सजावल साह सोनार पनि टोलका सबै वृद्धवृद्धासँगै आफू पनि बसमा चढेर सामाजिक सुरक्षा भत्ता लिन जान पाएकोमा निकै खुशी थिए । “उमेरका कारण र ग्रामीण भेग भएकोले बस नचढेको धेरै वर्ष भएछ,” उनले पनि सुनाए । हाम्रो वडाध्यक्ष सुरेन्द्रले राम्रो काम गरेका छन् । आफू युवा उमेरमा बसमा चढेर धेरै ठाउँ गए पनि बुढेसकाल लागेपछि धेरै वर्ष भयो बस नचढेको उनले युवा उमेरका अतीत सम्झँदै भने ।

सामाजिक सुरक्षा भत्ता लिन घरदैलोमा नै बस आइपुगेपछि सोही वडाका ७८ वर्षीय ब्रह्मदेव साह कलवार हतारहतार बसमा चढे । टोल र वडाका धेरै साथी देखेपछि उनी झनै खुशी भए ।

यही कात्तिक २२ गते वडाध्यक्षले बसको व्यवस्था गरिदिएका थिए । करैयामाई गाउँपालिका–८ नरहीमा ५५० जना वृद्धवृद्धाको नाम सामाजिक सुरक्षा भत्ता रेकर्डमा रहेको वडाध्यक्ष सुरेन्द्र साहले जानकारी दिए । छुट भएकाहरूको रेकर्डसमेत राख्ने उनले जानकारी दिए । ज्येष्ठ नागरिकले प्रतिमहीना चार हजारका दरले तीन/तीन महीनामा १२ हजार पाउने, त्यसैगरी एकल महिलालगायत विभिन्न वर्गीकरण अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको भत्ता रकम वडावासीलाई सरल र सहजरूपमा उपलब्ध होस् भन्नेमा आफू निकै चनाखो रही सेवामा समर्पित रहेको वडाध्यक्ष साहले बताए ।

सामाजिक सुरक्षा भत्ता लिन १२ किलोमिटर टाढा मधुवन बजार रहेको बैंकमा पुग्नुपर्ने भएकोले उनीहरूका लागि निश्शुल्क बससेवा उपलब्ध गराएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here