प्रस, परवानीपुर, २८ कात्तिक/
विश्व मधुमेह दिवसको अवसरमा वीरगंजमा निश्शुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ। वीरगंज महानगरका ३२ वटा वडामध्ये १६ वटा वडामा निश्शुल्क परीक्षण शिविर सम्पन्न भएको वीरगंज महानगरका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले बताए । महानगरको कार्यालय परिसर, वडा नं १७ देखि ३२ सम्म हरेक स्वास्थ्य चौकीमा बिहान १० देखि अपराह्न ४ बजेसम्म मधुमेह, रक्तचाप तथा पिसाबको निश्शुल्क परीक्षण गरिएको थियो ।
उनका अनुसार शुरूमा रक्तचाप परीक्षण गरिएको, त्यसपछि रगत परीक्षणबाट रगतमा मधुमेहको मात्रा पत्ता लगाइएको थियो । त्यसपछि रगतमा मधुमेह भेटिनेको पिसाब परीक्षणबाट मधुमेहको मात्रा पत्ता लगाइएको थियो ।
वीरगंज महानगर परिसरमा १०७ जनाले रगत परीक्षण गराएका छन् भने बाँकी वडामा न्यूनतम सयजनाको परीक्षण गर्ने लक्ष्य दिइएकोमा हरेक वडामा ५० भन्दा बढी मानिसको परीक्षण भएको महाशाखा प्रमुख महतोले बताए । वडा नं २५ श्रीसियामा रहेको श्रीसिया स्वास्थ्य चौकीका इन्चार्ज शत्रुघ्न यादवले आइतवार ६१ जनाको स्वास्थ्य परीक्षण भएको बताए ।
परीक्षणको क्रममा ६१ जनामध्ये २/२ जना पुरुष/महिला गरी चारजना नयाँ मधुमेह रोगी र दुईजना महिला तथा सातजना पुरूष गरी नौजना पुरानो मधुमेह रोगी पत्ता लागेको स्वास्थ्य चौकीका अहेब ताराचन्द्रप्रसाद यादवले जानकारी गराए ।
वीरगंज महानगरको वडामा रहेका स्वास्थ्य चौकीमा मधुमेह रोगबारे जनचेतना जगाउन र स्थानीयस्तरको सेवा उपभोग गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।