महोत्तरी, २७ कात्तिक/रासस

महोत्तरीसहितका मिथिला क्षेत्रमा शनिवार अक्षय नवमी पर्व मनाइयो । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा अनुसार यो पर्व आज मनाइएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।

पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ)को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वविशेषमा आज महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घरनजीकै, बगैंचा वा वनक्षेत्रमैं रहेका अमलाको रूखको फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने र खाने परम्परा छ । पर्वविशेषले अब चीसो मौसम छिप्पिंदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का महेशकुमार झाले बताए ।

पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिए । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिल बताउँछन् ।

सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवा बजारका बासिन्दा शिवनारायण झा बताउँछन् ।

पर्वविशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राईमण्डल, कालापानी र गौरीडाँडा वनपार्कनजीकका वनक्षेत्रका अमलाका रूखको फेदमा एकाबिहानै कैयौं वनभोजका टोली पुगेका थिए । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा सुनील दाहालको भनाइ छ ।

मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमीसमेत भनिने गरिएको छ । यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश वध गर्नुपूर्व मथुरा, बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन् ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने जनविश्वास छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ ।

इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ)को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा विमल बताउँछन् । अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले शुरू गरेको मैथिल युवा बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here