प्रस, वीरगंज, २६ कात्तिक/
‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीवारदेखि राष्ट्रिय जनगणना २०७८ शुरू भएको छ । जनगणनाका लागि पर्सा जिल्लामा ५ सय ७० जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय पर्साका जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए । कात्तिक २५ गतेदेखि शुरू भएको जनगणना मङ्सिर ९ गतेसम्म चल्नेछ । प्रभावकारीरूपमा जनगणना गर्नका लागि पर्सा जिल्लामा छवटा जनगणना कार्यालय स्थापना गरिएको छ ।
वीरगंज महानगरमा जिल्ला जनगणना कार्यालय पर्सा र महानगरको लागि परवानीपुरमा अर्को कार्यालय स्थापना गरिएको छ । त्यसैगरी, सखुवाप्रसौनी गाउँँपालिकालाई समेत हेर्ने गरी पर्सागढी नगरपालिकामा कार्यालय स्थापना गरिएको छ । ठोरी, जगरनाथपुर, पटेर्वासुगौली र जीराभवानी गाउँपालिकाको लागि जीराभवानीको सेढवामा कार्यालय सञ्चालनमा आएको छ । धोबिनी, पकाहामैनपुर र छिपहरमाई गापाको लागि कालिकामाई गाउँपालिकाको मुडलीमा कार्यालय स्थापना गरिएको अधिकारी ज्ञवालीले बताए ।
जनगणनाको पहिलो चरणमा सुपरीवेक्षकले घर सङ्ख्या, परिवार सङ्ख्या, कृषि विवरण, आर्थिक गतिविधि, बैंक खाता आदिका बारेमा सामान्य विवरण सङ्कलन गरी घरको सूचीकरण गरिसकेको र सूचीकरणपश्चात् दोस्रो चरणको गणकले जात, धर्म, संस्कृति, शैक्षिक विवरण, आर्थिक गतिविधि, मृत्युसँग सम्बन्धित विवरण सङ्कलन शुरू गरिरहेको जिल्ला जनगणना प्रमुख ज्ञवालीले जनाए ।
पर्सामा, यसअघि १ सय ४२ जना सुपरीवेक्षकले सूचीकरण गरेको १ लाख १८ हजार ५ सय १५ घरधुरीमध्ये ९३ हजार १ सय ४० घरमा मानिस बस्ने गरेको र ती घरका १ लाख ६ सय २१ परिवारको गणना हुने प्रमुख ज्ञवालीले स्पष्ट पारे ।