संयुक्त राष्ट्रसङ्घ, २६ कात्तिक/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसङ्घले इथियोपियालाई यो आग्रह गरेको हो। इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका कम्तीमा पनि ७० वटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरूले नै नियन्त्रणमा लिएको जनाएको थियो।
ती ट्रकहरू र ट्रकचालक तथा अन्य कर्मचारीहरूलाई तत्कालै मुक्त गर्न राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ताले माग गरेका छन्। उनले बिहीवार विज्ञप्ति प्रकाशन गरेर मानवीय सहायता उपलब्ध गराउन गएका सबै सवारीसाधन र कर्मचारीलाई तत्कालै रिहा गर्न माग गरेका हुन्।
इथियोपियामा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरूका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरूप त्यहाँ पठाइएको थियो।
तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरू नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्नेबारेमा केही पनि थाहा हुन नसकेको पनि बताइएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीवार एक विज्ञप्तिमार्फत भनेका छन्– यस्तो सहयोगका लागि गएका सहायताकर्मी तथा सवारीसाधनहरू नै सरकारले नियन्त्रणमा लिनु राम्रो नभएकोले तुरुन्त मुक्त गरी सहायता उपलब्ध गराउने वातावरण मिलाउनुपर्छ।
उनले ती ट्रकहरूको अवस्था के छ र कहाँ राखिएको तथा सवारीचालकहरूको पनि अवस्था के छ भन्नेबारेमा पनि इथियोपियाली सरकारले केही नबताएको जानकारी दिए। उनीहरूको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसङ्घले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन्।
इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिंसा जारी रहेको छ। जसका कारण लाखौं मानिस खाद्यान्नलगायतको मानवीय सहायताको अभाव रहेको छ। त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहायता पठाएको थियो। रासस