प्रस, वीरगंज, २३ कात्तिक/
नेपाली काङ्ग्रेसको प्रदेश २ मा कात्तिक २७ गतेदेखि निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कात्तिक २७ गतेदेखि मङ्सिर १० गतेसम्म वडा, नगर, क्षेत्र, प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउँदै प्रदेशको ८ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ।
पर्सा जिल्लामा अधिवेशनको जिम्मेवारी पाएका निर्वाचन प्रतिनिधि नरेन्द्र केसी सोमवार वीरगंज आएर पर्सा काङ्ग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यहरूलगायतसँग भेटघाट, छलफल गरेका छन्। नेपाली काङ्ग्रेस, पर्साको नवनिर्मित भवनको आत्माराम ओझा, दुखा सहनी स्मृति सभाहलमा आयोजना गरिएको भेटघाटमा कात्तिक २७ गतेदेखि १० गतेसम्म हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न उनले सबैसँग आग्रह गरे।
नेका, पर्साका सचिव श्याम पटेलले कात्तिक २७ गते वडा समितिको निर्वाचन हुने, कात्तिक ३० गते नगर अधिवेशन, मङ्सिर ३ गते प्रदेश अधिवेशन, ७ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुने कार्यसूची बनाइएको बताए। उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गरे यही कार्यसूची अनुसार हुने र केही समय थपघट पनि हुन सक्ने जानकारी गराए।
प्रदेश २ को आठवटा जिल्लामा यसै अनुरूप निर्वाचन हुनेछ। बारा जिल्लामा खटाइएको केन्द्रीय निर्वाचन प्रतिनिधि आउन नमानेपछि अर्को केन्द्रीय प्रतिनिधिलाई खटाइएको नेपाल तरुण दल, बाराका अध्यक्ष लोकेश सिंहले बताए। उनले बारामा मङ्गलवार अर्को केन्द्रीय प्रतिनिधि आउने र उनले निर्वाचन कार्यसूचीबारे स्थानीय नेता, कार्यकर्ताहरूलाई जानकारी गराउने बताए।
प्रदेश २ को रौतहटमा पनि नेकाको अधिवेशन सोही मितिमा हुने भएको छ। त्यहाँ सक्रिय सदस्यतासम्बन्धी विवादको टुङ्गो लागेको र तोकिएको मितिमा प्रदेशका अन्य जिल्लासरह रौतहटमा पनि निर्वाचन हुने बताइएको छ।
नेकाको १४औं महाधिवेशन मङ्सिर २६ देखि ३० गतेसम्म हुने अहिलेसम्मको कार्यसूची छ। महाधिवेशनको मिति नेकाले पाँचपटक संशोधन गरिसकेको छ।
महानगरमा चौहानको दाबी
नेका वीरगंज महानगरको सभापतिमा पत्रकार दीपेन्द्र चौहानले चुनाव लड्ने घोषणा गरेका छन्। उनले महानगरको गतिविधि शून्य भएको र आपूmले चुनाव जितेको खण्डमा गतिविधि तीव्र गर्ने बताए। उनले पर्सा काङ्ग्रेसमा हावी व्यक्ति परिवारवादविरुद्ध पनि आफ्नो उम्मेदवारी रहेको दाबी गरे।
चौहान नेपाल पत्रकार महासङ्घका सचिव हुन्। नेका वीरगंज महानगरमा उनीसमेत निवर्तमान अध्यक्ष भोलाप्रसाद कलवार र मनोहर साहलगायतले सभापतिमा दाबेदारी गर्दै आएका छन्।