सामाजिक सञ्जालमा फोटो राखेको निहुँमा दुई समुदायबीच झडप

0
493

प्रस, जनकपुरधाम, २७ भदौ/
    सामाजिक सञ्जालमा एक समुदायले अर्को समुदायको फोटो पोस्ट गरेको विषयलाई लिएर धनुषाको जनकपुरमा दुई समुदायबीच झडप भएको छ।
    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा शनिवार दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले करीब १५ राउन्ड हवाई फायर गरेको थियो।
    घटना विवरण अनुसार रूपैठाका एक हिन्दू युवाले केही दिन पहिले मोहर्रम पर्वका लागि मुस्लिम समुदायले बनाएको दाहाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। गैरमुस्लिम समुदायले मुस्लिमको फोटो किन पोस्ट गरेको भन्दै केही दिनदेखि मुस्लिम युवाहरूले विरोध जनाउँदै आएका थिए। यसै क्रममा हिन्दू धर्मावलम्बीको जितिया पर्वमा व्रतालु महिलाहरू नदीमा स्नान गरेको फोटो मुस्लिम युवाहरूले सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवादले उग्ररूप लिएको रूपैठाका बासिन्दाहरूले बताएका छन्।
    सो विषयलाई लिएर शनिवार बिहान दुवै समुदायका युवकहरूबीच ढुङ्गा हानाहान भएको थियो। विवाद बढ्दै गएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  
    शनिवार बिहान शुरू भएको झडप मध्याह्नसम्म नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि दुवै समुदायका अगुवालाई एउटै टेबुलमा राखेर वार्ता गराइएको धनुषाका प्रमुख जिल्ला  अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्। प्रहरीले झडपलाई नियन्त्रणमा लिन करीब १५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले भने ४ राउन्ड मात्रै अश्रु ग्यास प्रहार गरेको बताएका छन्। झडपको क्रममा आक्रोशित समूहले एउटा पसलमा तोडफोड गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here