काठमाडौं, २२ कात्तिक/रासस
चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरूप कोभिड–१९ विरुद्ध तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ।
प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सनट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गरेकी हुन्।
सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य हिताधिकारीलाई समेत उपलब्ध हुनेछ। कोभिड–१९ विरुद्ध लडाइँमा यस्ता सहयोगबाट सेना जनताको सेवामा थप प्रभावकारीरूपमा लाग्न सक्षम हुने सेनाले विश्वास लिएको छ।