प्रस, सेढवा, २१ कात्तिक/
पर्साको वन फडानी गरेको कसूरमा वन कार्यालयले दुईजनालाई पक्राउ गरेको छ।
सबडिभिजन वन कार्यालय वसन्तपुरको टोलीले ६ थान सालको गोलिया काठसहित एकजनालाई पक्राउ गरेको रेन्जर सुमन पाण्डेले बताए। बिहान ३ः३० बजे जीराभवानी गाउँपालिका–५ सकुवानी निवासी ४१ वर्षीय गणेश महतो कम्करलाई जङ्गलबाट हरियो सालको गोलिया काठ साइकलमा ल्याउने क्रममा पक्राउ गरिएको रेन्जर पाण्डेले बताए। पक्राउ परेका कम्करलाई आवश्यक कारबाईको लागि डिभिजन वन कार्यालय, पर्सा पठाइएको उनले जानकारी गराएका छन्।
प्रस, बिरूवागुठी/
सबैया साझेदारी वन क्षेत्रबाट सालको कचडा काठसहित एकजना पक्राउ परेका छन्। आइतवार बिहान साइकलमा सालको कचडा काठ ल्याउने क्रममा पर्सागढी नगरपालिका–३ सृजनटोलबाट वडा नं. ८ हरपुर टाँडी निवासी ५५ वर्षीय इस्लाम हवारीलाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय सबैयाका फरेस्टर पुरूषोत्तम पटेलले बताए।
सबडिभिजन वन कार्यालय सोलखपुर र सबैयाको संयुक्त गस्ती टोलीले हवारीलाई सालको कचडा काठसहित पक्राउ गरिएको र कारबाईको लागि सबडिभिजन वन कार्यालय सबैयामा राखिएको फरेस्टर पटेलले जानकारी गराए।