फ्रिटाउन, २१ कात्तिक/सिन्ह्वा

सियरा लिओनको एउटा राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ। सो दुर्घटनामा परेर अरू ९२ जना जलेर घाइते भएका बताइएको छ। यसमा परेर घाइते भएकाहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ। उनीहरूको शरीर जलेको बताइएको छ।

सियरा लियोनको राजधानी फ्रिटाउनमा शुक्रवार साँझतिर भएको दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या १०८ पुगेको यहाँका अधिकारीहरूले शनिवार जनाएका छन्। शनिवार रातिसम्म १०८ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गरेका छन्। यहाँका उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरू करीब ९० जनाको उपचार भइरहेको पनि जानकारी दिएका छन्।

उपचार भइरहेकामध्ये अधिकांशको शरीरको धेरै भाग जलेको छ। उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि १०८ जनाको मृत्यु भइसकेको र अरू ९२ जनाको उपचार भइरहेको बताएका छन्। यहाँका चिकित्सकहरूले दिएको जानकारीमा घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन्। तीमध्ये कतिपय दुर्घटनास्थलका स्थानीय छन् भने अरू केही सडकमा यात्रा गरिरहेका व्यक्ति पनि परेका छन्।

इन्धन बोकेको ट्यांकर अर्काे एउटा सवारी साधनसँग ठोकिएपछि इन्धन पोखिएको थियो। पोखिएको सो इन्धन उठाएर लिने क्रममा यहाँका स्थानीय व्यक्तिहरूबीच निकै भिडभाड भएको थियो। त्यस्तै यी दुर्ई सवारी साधन ठोकिएपछि त्यस समय सडकमा पनि मानिसहरू हिंडेका र केही भने आफ्नै सवारी साधनमा रहेका थिए। उनीहरू पनि सो दुर्घटनामा परेका थिए।

उनीहरूलाई नै पछि आगोले छोएको थियो। आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको देखिएका थिए।

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरूले जनाएका छन्।

इन्धन पोखिएको र त्यसपछि सोही इन्धनमा आगो सल्किएकोले आगोले नजीक रहेका मानिस र सवारी साधन जलेका थिए। यहाँका राष्ट्रपति जुलियस मादा बायोले देशमा निकै ठूलो मानवीय क्षति भएको बताएका छन्। यस दुर्घटनाले आफूलाई अति दुःखित बनाएको उनले बताएका छन्।

प्रहरी अधिकारीहरूले १०८ जनाको शव शवगृहमा राखिएको बताएका छन्। सबै शव जलेको अवस्थामा छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here