प्रस, वीरगंज, १४ कात्तिक/
नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधनमा आइतवार नेपाल पत्रकार महासङ्घ पर्साले श्रद्धाञ्जलिसभा सम्पन्न गरेको छ । नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा आयोजित श्रद्धाञ्जलिसभाका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले ३७ वर्षदेखि पत्रकारिता गर्दै आएका स्व गुप्ताको योगदान पत्रकारिता क्षेत्रमा अविश्मरणीय रहेको बताए । उनले पत्रकारितामा देखिएको विकृतिविरुद्ध महासङ्घ गम्भीर हुनुपर्ने चर्चा गरे ।
वीरगंजको पत्रकारितामा पछिल्लो चरणमा देखिएको यस प्रकारको विकृतिविरुद्ध महासङ्घ गम्भीर हुनुपर्ने उनको सुझाव थियो । गलत कार्य गर्ने सदस्यबाहेकलाई पनि महासङ्घले कारबाईको दायरामा ल्याउनुपर्ने उनले बताए ।
शाखा अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको श्रद्धाञ्जलिसभामा प्रदेश महासचिव श्याम बन्जाराले स्व गुप्ताको सम्झनामा प्रदेशले वार्षिक रु २१ हजार राशिको पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरे ।
कार्यक्रममा विपिन कुशवाहाले रु ५१ सयको चेक प्रदेश महासचिव बन्जारालाई हस्तान्तरण गरे । उनले स्व गुप्ताको परिवारलाई सो राशि प्रदान गर्न आग्रह गरे । कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, पूर्व केन्द्रीय सदस्य महेश दास, प्रेस काउन्सिलका सदस्य लालबाबू शेख, केन्द्रीय प्रतिनिधि महेश गौतम, प्रदेश सदस्य त्रिलोकी यादव, भारत रक्सौलका पत्रकार विपिन कुशवाहा, प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारीलगायतले शोक समवेदना प्रकट गरेका थिए ।
कार्यक्रमको सहजीकरण शाखा सचिव भूषण यादवले गरेका थिए ।