प्रस, वीरगंज, १३ कात्तिक/

प्रदेश २ सरकारका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले देश विकासको मुख्य मेरुदण्ड मानिने ऊर्जा एवं खानेपानीको सहज र निर्बाध पहुँचको लागि प्रदेश सरकार लागिपरेको बताएका छन् ।

नेपाल–भारत विश्वमैत्री सङ्घ वीरगंजद्वारा दीपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले प्रदेशको औद्योगिक विकास एवं जनतालाई आवश्यक विद्युत् एवं खानेपानीको सहज आपूर्तिमा प्रदेश सरकार लागिपरेको बताए । उनले प्रदेशलाई ऊर्जा एवं खानेपानीमा आत्मनिर्भर बनाउन मित्रराष्ट्र भारतसमेतको सकारात्मक सहयोगको अपेक्षा रहेको चर्चा गरे ।

कार्यक्रममा वीरगंजस्थित भारतीय वाणिज्यदूत शैलेन्द्र कुमारले नेपाल र भारतबीच सदीयौंदेखि चल्दै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ दिगो बनाउनुपर्नेमा जोड दिए । सुख–दुःखमा एकअर्काको सहयोग र सहकार्य आवश्यक रहेको पनि उनको भनाइ थियो । नेपाल–भारत विश्वमैत्री सङ्घको अगुवाइमा द्विदेशीय सम्बन्ध अझ उचाइमा पुग्ने उनले दाबी गरे ।

सङ्घका पर्सा संयोजक धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार चन्द्रकिशोर झा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाली काङ्ग्रेस पर्साका शहरूमराउत गद्दी, लोसपाका रम्भा मिश्र, कनिका कौशिकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here