प्रस, गरुडा, १३ कात्तिक/
रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयका बालबालिकालाई शनिवार एक कार्यक्रमका बीच शैक्षिक सामग्री प्रदान गरिएको छ ।
लायन्स क्लब अफ रौतहट चन्द्रपुर फेमिना र लायन्स क्लब अफ रौतहट चन्द्रनिगाहपुरले संयुक्तरूपमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
चन्द्रपुरमा नयाँ गठन भएको लायन्स फेमिनाको पहिलो औपचारिक कार्यक्रमको रूपमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
फेमिनाकी अध्यक्ष निशा कोइरालाको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनाथालयका ३२ जना बालबालिकालाई झोला, कापी, कलम, सीसाकलम, इरेजर, नेलकटर, खाद्यान्न सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा अनाथालयका संस्थापक वंशीराम जयसवाललाई सम्मानित पनि गरिएको थियो ।
कार्यक्रममा पत्रकार फणि महत, अनाथालय सञ्चालक हृदय कश्यप, गरुडा उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्र जयसवाल, रेणुका जिसी खतिवडा, प्रनाउ भण्डारीलगायतले अनाथ बालबालिकालाई सकेको सहयोग गर्नुपर्ने बताउँदै सम्भव भएसम्म अनाथ बालबालिकाको दीर्घकालीन सहयोगको लागि स्थापना भइरहेको अक्षयकोषमा योगदान दिनुपर्ने बताएका थिए ।
अनाथालयलाई निरन्तर सहयोग गरिरहेको लायन्स क्लब चन्द्रनिगाहपुरले आगामी दिनमा पनि सम्भव भएसम्म सकेको सहयोगलाई निरन्तरता दिने संयोजक दीपक गौतमले बताए ।