प्रस, परवानीपुर, १२ कात्तिक/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले १०/१० वर्षमा हुने राष्ट्रिय जनगणनामा भोजपुरीभाषीहरूले पनि अर्कै भाषा लेखाउन थालेपछि भोजपुरीभाषीको सङ्ख्या घटेको बताएका छन् ।
भोजपुरी प्रतिष्ठान वीरगंजले शुक्रवार नगर सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले नेपालमा भाषाको हिसाबले भोजापुरी भाषा तेस्रो स्थानमा भएको र हाल भइरहेको राष्ट्रिय जनगणनामा भोजपुरीलाई मातृभाषा लेखाउन आग्रह गरे । उनले आफ्नो मातृभाषा भोजपुरी नै लेखाउने प्रतिबद्धता जाहेर गरे ।
“२०५८ सालमा नेपालको कुल जनसङ्ख्याको करीब ७.५३३ प्रतिशत जनसङ्ख्याले भोजपुरी बोल्थे, त्यति बेला नेपालमा ९२ वटा राष्ट्रभाषा थिए भने २०६८ सालमा उक्त सङ्ख्या ५.९९२ प्रतिशतमा झरेको थियो, २०६८ मा राष्ट्रभाषा १२५ वटा थिए,” उनले भने, “धेरै तराई–मधेसका बासिन्दाले उर्दू र थारू भाषा पनि लेखाएका छन्, यसले भोजपुरीभाषीको सङ्ख्या समग्रमा घटिरहेको र तेस्रो स्थानमा थारू भाषा आएको छ ।” यस कारण आफूहरूले आफ्नो मातृभाषाको रूपमा भोजपुरीलाई नै लेखाउनुपर्नेमा उनले जोड दिए ।
उपप्रमुख शान्ति कार्कीले वीरगंजका धरोहर र भोजपुरी भाषामा कलम चलाएर योगदान पु¥याउने साहित्यकारहरूलाई प्रतिष्ठानले सम्मान गरेर निकै सराहनीय काम गरेको बताइन् ।
प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भाषाविद् एवं माओवादी केन्द्रका नेता गोपाल ठाकुर, खोज पत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर झा, साहित्यकार दिनेश गुप्ता, गोपाल अश्क, भोजपुरी भाषाका जानकार आनन्द गुप्ता, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, प्रजिअ उमेशप्रसाद ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा साहित्यकार एवं नाटककार रामचन्द्र चतुर्वेदी, उपन्यासकार नागेन्द्रप्रसाद कानू, कवि मयङ्केश्वर बर्णवाल, निबन्धकार रामचन्द्र बर्णवाल, कवि, आख्यानकार, कथाकार माधवप्रसाद गौतम, कवि शशिभूषण बर्णवाल, कवि राधाकृष्ण गुप्ता, बिकाउ गिरी ‘विनीत’ गरी सातजनालाई सम्मानित गरिएको थियो । कार्यक्रमको सहजीकरण ऋतुराजले गरेका थिए ।