प्रस, सर्लाही, १२ कात्तिक/
मजदूरीका लागि भारत पुगेका सर्लाहीका तीनजना मजदूरको शङ्कास्पद मृत्यु भएको छ ।
भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण कोल्ड स्टोरमा काम गर्न पुगेका चन्द्रनगर गाउँपालिका–६, कामदका दुईजना र ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका एकजना मजदूरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कामदका ३९ वर्षीय जगदीश माझी, २९ वर्षीय नन्दलाल माझी र भक्तिपुरका ४० वर्षीय सुमन भुजेल रहेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न सकेको छैन ।
तीनजनाको मृत्युपछि उनीहरूसँगै गएका अन्य २० जना साथी मजदूरहरू फर्किएर घर आएका छन् । उनीहरूको भनाइ अनुसार विषाक्त घरेलु मदिराको सेवनबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
गाउँकै ठेकेदारमार्फत उनीहरू मजदूरी गर्न भारत गएका थिए । ठेकेदारलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने पीडितको माग छ । घर फर्किएर आएका २० जनामध्ये पाँचजना घर आइपुगेपछि अचेत भएर ढलेको कामदका वडाध्यक्ष रामचन्द्र कापरले बताए । उनीहरूको मलङ्गवास्थित अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रवारसम्म उनीहरूको स्वास्थ्य अवस्थामा सुधार आएको वडाध्यक्ष कापरले जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले कामदका दुईजना मृतकको शव बिहीवार साँझ भारतबाट ल्याएर जिल्ला अस्पताल मलङ्गवामा शल्यपरीक्षण गरी आफन्तजनको जिम्मा लगाइएको बताए ।
भक्तिपुरका एकजना मृतकको शव भारतमैं शल्यपरीक्षण गरिएको उनले बताए ।