प्रस, पोखरिया, ११ कात्तिक/
जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालय पोखरियामा प्रधानाध्यापकको अभावमा आर्थिक र शैक्षिक गतिविधि सुस्त बनेको छ । उच्च अदालत वीरगंज इजलासको आदेशमा प्रधानाध्यापक भएका विनोद महतो थारूले पनि राजीनामा गरेका कारण विद्यालयमा अहिले प्रधानाध्यापक छैन र त्यहाँका शिक्षकहरूले दशैंमा पनि तलब पाएनन् । अहिले नजीकिएको दीपावली र छठ पर्वमा पनि तलब पाउनबाट वञ्चित हुने अवस्था देखिएको छ ।
पोखरिया नगरपालिका कार्यालयले विद्यालयका प्रअ व्यास महतोलाई अनिवार्य अवकाश दिएपछि गत वैशाख महीनामा प्रअको जिम्मेवारी ओमप्रकाश रौनियारलाई सुम्पेको थियो । तर वरिष्ठताको आधारमा आफू प्रअ हुनुपर्ने माग गर्दै विनोद महतो थारूले उच्च अदालतमा रिट दिएको र उनको पक्षमा अदालतले निर्णय गरेपछि उनलाई प्रअको जिम्मेवारी दिइएको थियो ।
थारू प्रअ नियुक्त भएको बखत पोखरिया नगरपालिकाको नगरसभा नभएको कारण बजेट निकासा भएको थिएन । बजेट निकासा नभएको कारण शिक्षकहरूलाई मासिक तलब दिन नसक्दा प्रअ थारूको आदेश शिक्षकहरूले मान्न छाडेका थिए र विद्यालय भद्रगोल अवस्थामा पुग्न थालेपछि प्रअ थारूले पनि राजीनामा गर्नुपरेको थियो । अहिले थारूको राजीनामा स्वीकृत गरिएको छैन ।
यसैबीच, तीन दिनअघि मात्र पोखरिया नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । नगरसभा सम्पन्न भएसँगै नगरपालिकाले आर्थिक कारोबार शुरू गर्ने बाटो खुलेको छ ।
थारूको हस्ताक्षरबाट आर्थिक कारोबार पनि शुरू नभएको अवस्थामा उनले राजीनामा गरेको र अर्काे प्रअको नियुक्त नगरिएको कारण शिक्षकहरूले चाडपर्वमा तलब पाउने कुरामा अहिले आशङ्का बढेको हो ।
यता प्रअको अनुपस्थितिमा विद्यालयको शैक्षिक गतिविधि पनि प्रभावित भएको छ । शिक्षकहरूलाई कमान्ड गर्ने प्रअको अनुपस्थितिले विद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको विद्यार्थीहरूले गुनासो गरेका छन् । नियमितरूपमा कक्षा सञ्चालन हुन नसकेको, कतिपय शिक्षक समयमा नआउने, आएकाहरूले पनि नियमितरूपमा कक्षा सञ्चालन नगर्ने जस्ता बेथिति विद्यालयमा शुरू भएको छ ।
जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालय पोखरिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगरप्रमुख दीपनारायण रौनियार हुन् । उनले विद्यालयको शैक्षिक वातावरणको जिम्मेवारी राजीनामा स्वीकृत नहुन्जेलसम्म प्रअ थारूले लिनुपर्ने बताए । आर्थिक समस्याको समाधान पनि अब चाँडै गरिने र शिक्षकहरूले समयमा तलब पाउने उनले बताए ।
दशैंअघि नै शिक्षा शाखा प्रमुख र विद्यालयका लेखापालको नाममा खाता सञ्चालनका लागि सिफारिश भएको र सो स्वीकृत हुनासाथ शिक्षकहरूले तलब पाउने उनले बताए ।