प्रस, वीरगंज, ११ जेष्ठ/

वीरगंज उद्योग वाणिज्य सङ्घले बिहीवार सङ्घको कार्यकक्षमा राजस्व अनुसन्धान कार्यालय, पथलैया, बाराका प्रमुख अनुसन्धान अधिकृत नारायणप्रसाद मैनालीसँग छलफल गरेको छ ।

छलफलको क्रममा सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महŒव र बोकेको अपार सम्भावना व्यक्त गर्दै यहाँका चुनौती र उद्योगी–व्यवसायीहरूले भोग्नुपरेका समस्याबारे अवगत गराएका थिए । उनले ७० प्रतिशत कार्गो यही नाकाबाट आयात हुने गरेको र राष्ट्रिय राजस्वमा करीब आधा योगदान रहेको तर सोही अनुरूप यस क्षेत्रको भौतिक पूर्वाधारको विकास नभएको गुनासो गरे ।

उनले राजस्वमा पु¥याएको योगदान सरह भौतिक विकास हुनुपर्ने माग राखे । अध्यक्ष गुप्ताले राजस्व अनुसन्धान विभागबाट लागू गरिएको भिसिटिएस प्रणालीलगायत राजस्वसम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनमा उद्योगी–व्यवसायीहरूले भोग्नुपरिरहेको समस्या समाधानका लागि सङ्घ र राजस्व अनुसन्धान कार्यालय, पथलैयाले संयुक्तरूपमा पहल गर्नुपर्ने सुझाव राखे ।

कार्यक्रममा सहभागीहरूले भिसिटिएस प्रणालीले सिर्जना गरेको जटिलता तथा भिसिटिएसका कारण उद्योगी–व्यवसायीहरूले बेहोर्नुपरिरहेको व्यय भारका कारण यस प्रणालीलाई व्यवस्थित तुल्याउन उद्योगी–व्यवसायीहरूलाई राजस्व अनुसन्धान कार्यालय, पथलैयाबाट प्रशिक्षण दिनुपर्नेमा जोड दिएका थिए ।

राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख राजस्व अधिकृत मैनालीले भिसिटिएसलगायत राजस्व अनुसन्धानसम्बन्धी प्रशिक्षण दिई वैध व्यापारलाई प्रोत्साहनको निमित्त छठ पर्वलगत्तै कार्यक्रम आयोजना गर्ने आश्वासन दिए । उनले राजस्व अनुसन्धानका क्रममा आउने नीतिगत तथा व्यावहारिक समस्याहरूलाई समाधान गर्नेतर्फ आफ्नो इमानदार प्रयास हुने आश्वासन पनि दिए ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए भने नेउवामहासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठ, पूर्वअध्यक्ष अशोककुमार टेमानी, अशोककुमार बैध, प्रदीपकुमार केडियालगायत सङ्घका पदाधिकारी सदस्य र उद्योगी–व्यवसायीहरूको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here