प्रस, परवानीपुर, ९ कात्तिक/

एकीकृत जाँच चौकी (एन्टिग्रेटेड चेक पोस्ट–आइसिपी) वीरगंजको मूलगेटमा पछिल्लो समय यौनधन्दा र लागूऔषधको कारोबार फस्टाउँदै गएको छ ।

आइसिपीको मूलगेटमा सञ्चालित विभिन्न होटलमा लागूऔषध गाँजा, चरेस तथा ट्याब पाइने गरेको छ । साथै, केही यौनकर्मीले स्थानीय होटलका सञ्चालकसँग मिलेर देह व्यापार गरिरहेको स्थानीयको गुनासो छ ।

सट, गुम्टी भाडामा लिएर तथा छाप्रो बनाएर होटल सञ्चालन गर्ने केही होटल सञ्चालकले नै लागूऔषधको कारोबारलाई पनि बढावा दिइरहेका छन् । उनीहरूले आफ्नो झोला, घर्रा र होटलभित्रै माटो खनेर लागूऔषध लुकाएका हुन्छन् ।

चिनेका ग्राहकले किन्न आएको बेला त्यहाँबाट निकालेर बेच्ने गर्छन् । भारु डेढ सयमा गाँजाको पुडिया बिक्री हुने गरेको छ भने ट्याबहरू विभिन्न मूल्य बिक्री हुन्छन् । यौनकर्मीहरूले भारु ५ सय लिएर यौनकर्म गर्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार यस्तो कार्यमा स्थानीय प्रहरी युनिटको पनि साँठगाँठ रहेको स्थानीयको आरोप छ ।

स्थानीय प्रहरी युनिटले कारोबारीसँग मासिक दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म नजराना लिने गरेको छ । यस्तो धन्दाका ग्राहकहरूमा भारतीय चालक र केही नेपाल युवा छन् । उक्त नाका भएर दैनिक चार सयदेखि आठ सय भारतीय गाडी नेपाल भित्रिन्छन् । अधिकांश गाडी चालक भन्सार यार्ड वा बाहिर गाडी पार्क गरी मूलगेटतर्फ शौच गर्न, नुहाउनेदेखि खाना, नास्तासहित मदिरासेवन गर्न आउँछन् ।

सोही क्रममा उनीहरू यौनकर्मी र लागूऔषध कारोबारीको फन्दामा पर्ने गरेको बताइन्छ । सो क्षेत्रमा दैनिक केही भारतीय चालक ठगिएको वा कुटपिटमा परेको भेटिन्छन् । १० वर्षअघि २०६२/६३ को मधेस आन्दोलनताकाको वीरगंज बसपार्क र बाइपास सडकका यौनकर्मीहरूले आइसिपी चोकतर्फ आफ्नो व्यवसाय स्थानान्तरण गरेको स्थानीयहरूको आरोप छ ।

यस विषयमा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेसँग बुझ्दा आफूकहाँ यस्तो क्रियाकलापको जानकारी आए कारबाही गर्ने बताए । “यसबारेमा म गम्भीर भएर टीम परिचालन गर्नेछु, दोषी भेटिए कारबाही गर्नेछु,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here