प्रस, परवानीपुर, ६ कात्तिक/
पर्सामा माटोको ढिस्कोले पुरेर एकजना बालिकाको मृत्यु भएको छ भने एकजना बालिकाको अवस्था गम्भीर रहेको छ । वीरगंज महानगरपालिका वडा नं ३२ चोर्नीका मनोज मण्डलकी पाँच वर्षीया छोरी अर्चना कुमारीको मृत्यु भएको छ भने निजकै सात वर्षीया छोरी शिवानी कुमारीको अवस्था गम्भीर रहेको छ ।
पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार शनिवार दिउँसो अढाई बजे घर लिपपोतको लागि माटो खनिरहेको बेला माटोको ढिस्कोले पुरिएर दुवैजना घाइते भएका थिए ।
उपचारको लागि वीरगंज हेल्थकेयरमा ल्याउँदा दिदीबहिनीमध्ये बहिनी अर्चनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने दिदी शिवानी कुमारीको अवस्था नाजुक रहेको छ । शिवानीलाई थप उपचारको लागि नारायणी अस्पतालमा रेफर गरिएको छ ।