प्रस, वीरगज, ५ कात्तिक/

वीरगंज महानगर–११ मुर्लीचोकमा रहेका मासुमाछा पसलले बाटोमा फोहर फाल्न थालेपछि यात्रीहरूलाई समस्या भएको छ । दिनभरि पसलबाट निस्केको फोहर रातिको समयमा माछामासु पसलेले बाटोमा फालेपछि सो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।

फोहरका कारण बाटो हिंड्ने बटुवाहरू आवतजावत गर्दा मुख छोप्न बाध्य हुन्छन् । मुर्लीबजारलाई व्यवस्थित बनाउन पटक–पटक पहल भएपनि कसैले चासो देखाएको छैन । मासुमाछाका पसल भएको कारण सो क्षेत्रमा रातितिर कुकुरहरूले आतङ्क मचाउने गरेको काङ्ग्रेसका नेता अरविन्द गुप्ताले बताए । सडकपेटी छेउमा माछाको पसल अव्यवस्थित भएको कारण सो क्षेत्रमा बजार व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।

माछामासु नखानेहरू अहिले मुर्लीचोकको बाटो भएर हिंड्न छाडेको उनले बताए । फोहर राख्न मुर्लीचोकमा ठूला–ठूला ड्रम राखिए तापनि माछामासु पसलेले जथाभावी सडकमा फोहर फाल्दा भुस्याहा कुकुर र सुङ्गुरहरूले फोहर खोस्रेर घिनलाग्दो दृश्य देखिने गर्छ ।

महानगरपालिकाले फोहरको गाडीमा मात्र फोहर राख्न होटल र माछामासु पसलेलाई आग्रह गरे पनि उनीहरूले अटेर गर्दै आएका छन् । पसलेहरूले रातिको समयमा सडकमा फोहर फाल्दा भुस्याहा कुकुरको आतङ्क पनि बढेको छ, जसले गर्दा रातिपख हिंड्डुल गर्ने व्यक्तिलाई कुकुरले लखेट्ने र टोक्ने गरेको नेता गुप्ता बताउँछन् । वीरगंज महानगरपालिकालाई यसबारे पटक–पटक जानकारी गराए पनि नगरप्रहरीले पसलेलाई कारबाई गर्न कुनै चासो देखाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here