जेनेभा, ५ कात्तिक/सिन्ह्वा
विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मीहरूलाई कोभिड–१९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरूलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरू नै कोभिडको सङ्क्रमणको मारमा परेको बताउँदै उनीहरूको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि एक लाख १५ हजारजना स्वास्थ्यकर्मीहरूको ज्यान गएको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महीनाको बीचमा यतिधेरै स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान गरिएको बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस आधनाम घेब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले अहिले पनि विश्वका करीब ११९ देशका स्वास्थ्यकर्मीहरूको तथ्याङ्क हेर्दा ती देशका करीब पाँच स्वास्थ्यकर्मीमध्ये दुईजनाले मात्र
खोपको पूर्ण मात्रा प्राप्त गरेका बताएका छन् ।
त्यसैले अहिले पनि विश्वमा कोभिड महामारीको अवस्था नहटेको र त्यसमा स्वास्थ्यकर्मीहरू पहिलो पङ्क्तिमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई खोप उपलब्ध गराउनुपर्ने बताएका हुन् । अहिले विश्वमा खोपको न्यायपूर्ण वितरण हुन नसकेको बताइएको छ । यस विषयमा विश्व स्वास्थ्य सङ्गठनले पनि आलोचना गर्र्ने गरेको छ ।
भारतमा १५ हजार नयाँ सङ्क्रमित थपिए
नयाँ दिल्ली/एएनआई
भारतमा कोरोना भाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
नयाँ सङ्क्रमितमध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेका पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार जनाएको छ ।
सोही अवधिमा भारतमा १८ हजार ६४१ जना सङ्क्रमितहरू सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकोले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो । भारतमा अहिले एक लाख ७५ हजार ७४५ जना सङ्क्रमित अवस्थामा छन् । यो सङ्ख्या २३२ दिनपछिकै सबैभन्दा कम भएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
भारतमा अहिलेसम्म कुल तीन करोड ३५ लाख १४ हजार ४४९ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण थप २३१ जनाको मृत्यु भएको छ । तीमध्ये केरलाका मात्रै ११८ जना रहेका छन् । रासस