प्रस, वीरगंज, ४ कात्तिक/
हुलाकी राजमार्ग अन्तर्गत वीरगंज ठोरी सडकखण्डभित्र पर्ने तिलावे पुल निर्माणमा ठेकेदारले चासो नदेखाउँदा निर्माण कार्य अवरुद्ध हुने सङ्केत देखिएको छ ।
योजना हेर्ने निकाय सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, वीरगजले सार्वजनिक सूचना प्रकाशित गर्दै निर्माण कम्पनीसँग ‘किन ठेक्का नतोडने’ सूचना प्रकाशित गरेपछि पर्सावासीका लागि चिन्ताको विषय बनेको छ ।
सडक विभागले ठेकेदार कम्पनी पप्पु/लुम्बिनी बिल्र्डसलाई म्याद थप गर्न पटकपटक पत्रचार गरेपनि अहिलेसम्म जिम्मेवार व्यक्ति लुम्बिनी बिल्र्डसका प्रतिनिधि सम्पर्कमा नआएपछि ७ दिन भित्र लिखित जवाफको लागि सार्वजनिक सूचना प्रकाशित गरिएको कार्यालयका सूचना अधिकारी इ. दुर्गा मण्डलले जानकारी गराए ।
शुरूमा पप्पुले निर्माण कार्य गरेको तर उनले काम गर्ने तदारुकता नदेखाएपछि कम्पनीका साझेदार संस्था लुम्बिनी बिल्डर्सले कार्य आरम्भ गरेको थियो । पुलको भौतिक प्रगति ७६ प्रतिशत तथा वित्तीय भुक्तानी ६५ प्रतिशत भएको कार्यालयका इ. मण्डलले बताए ।
ठेक्काको अन्तिक म्याद २०७८/०५/६ सम्म रहेकोमा नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार पुनः म्याद थप्ने कि तोड्ने विषयमा पटकपटक पत्राचार गरेपनि कम्पनिका प्रतिनिधिहरू सम्पर्कमा नआएको मण्डलको भनाइ छ । २०७२/२/२५ गते ठेकेदार कम्पनीले तिलावे पुल निर्माणका लागि रु ७ करोड ७१ लाख ७३ हजार ७५० मा ठेक्का सकार गरेको थियो। पुल निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम समय २०७५/२/२४ गते थियो ।
पटकपटक म्याद थप्दै ६ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले सोही बेलादेखि आलटाल गर्दै विभिन्न बहाना बनाउँदै ग¥यो । गत वर्षदेखि तीव्रताका साथ काम गर्दै भौतिक प्रगति ६७ प्रतिशत भएको पनि छ ।
ठोरी–वीरगंज हुलाकी सडकका अधिकांश पुल निर्माण भइसकेका छन् । गत आर्थिक वर्षमा बिरे खोला, घट्टे खोला, घले खोलामा पुल निर्माण भइसकेको मण्डलले बताए । सो सडक खण्ड अन्तर्गत सबै पुल निर्माण भइसकेको तर तिलावे र गङ्गोल नदीको पुल आजसम्म अधकल्चो छ।
गङ्गोल नदीको पुलको पुनः डिजाइन गरी ठेक्का दिने तयारीमा छ । सो नदीको पुल निर्माणमा भूमिगत पानीले अपठ्यारो बनाएपछि शुरू ठेक्दारले ठेक्का तोडेको र चालू आर्थिक वर्षभित्र पुनः डिजाइन गरिएको इ. मण्डलको भनाइ छ ।