वाशिंगटन, ४ कात्तिक/एएफपी

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरू ट्वीटर र फेसबूकले उनको आधिकारिक एकाउन्ट हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्पले आफैं भ्रम फैलाएको, सामाजिक सद्भावमा असर पारेकोलगायत आरोप लगाउँदै ती सामाजिक सञ्जालहरूले उनको एकाउन्ट हटाइदिएका थिए । विषेश गरेर ट्रम्पका समर्थकहरूको भीड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबूकले आफ्ना सञ्जालबाट हटाएका थिए ।

उनीहरूले हटाएपछि पूर्व राष्ट्रपति ट्रम्पले आफ्ना अपडेटहरू सार्वजनिक गर्न छुट्टै ब्लगजस्तै अनलाइन सञ्चालन गरेका थिए । तर त्यो पनि केही समयपछि बन्द भएको थियो । सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेको जनाइएको छ ।

उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम ट्रुथ सोसियल’ राख्ने तय भइसकेको उनको सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टिएमटिजी)ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफैं हुन् । ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधिसम्बन्धी ठूला कम्पनीहरूको अत्याचारविरुद्ध उभिने बताएका छन् । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरूले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ ।

ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ । भिडिओ सेवामा समाचार, पडकास्टलगायत धेरै सुविधा उपलब्ध गराइने टिएमटिजीले जानकारी दिएको छ । सो सामाजिक सञ्जाल आगामी महीनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महीना अमेरिकामा मात्रै उपलब्ध हुनेछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here