प्रस, जीतपुर, ४ कात्तिक/
आन्तरिक राजस्व कार्यालय सिमरा, बाराले सरकारले निर्धारण गरेको लक्ष्यको १४० प्रतिशतले रु ३ अर्ब ११ करोड ६९ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ ।
चालू आवको साउन–असोज तीन महीनामा एक लाख १२ हजार ९९१ व्यवसायी, बासिन्दा, करदाताहरूले रु ३ अर्ब ११ करोड ६९ लाख ८७ हजार राजस्व बुझाए । जसमा आयकर रु ३२ करोड ९० लाख ५१ हजार, घर बहाल कर रु १ करोड ७० लाख ८० हजार, ब्याज कर रु १ करोड ४८ हजार, मूल्य अभिवृद्धि कर रु ४० करोड ६० लाख ५७ हजार, अन्तःशुल्क रु १ अर्ब ७६ करोड ११ लाख ९४ हजार, स्वास्थ्य सेवा कर रु ५९ करोड ३५ लाख ४० हजार, शिक्षा कर रु १७ हजार गरी जम्मा रु ३ अर्ब ११ करोड ६९ लाख ८७ हजार राजस्व सङ्कलन गरिएको आन्तरिक राजस्व कार्यालय, सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी गराए ।
मुलुकभरिकै औद्योगिक प्रतिष्ठानहरूमध्ये सबैभन्दा बढी कर, राजस्व तिर्ने यस कार्यालय अन्तर्गत एक लाख करदाताहरूमध्ये सूर्य नेपाल प्रालि सिमरा हो र सूर्य नेपाल प्रालि सिमराले दैनिक करीब रु ३ करोडको दरले मासिक रु ८० देखि ९० करोड राजस्व दाखिला गरेको आन्तरिक राजस्व कार्यालय, सिमराका प्रमुख कर अधिकृत भण्डारीले बताए ।