प्रस, वीरगंज, ३ कात्तिक/
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) र लेडिज सर्कल नेपाल (एलसिएन)को सहकार्यमा वीरगंजमा प्रथमपटक राष्ट्रियस्तरको महिला उद्यमी सम्मेलनको तयारी पूरा भएको छ । पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो ।
कात्तिक ५ गते शुक्रवारका दिन बिहान ११ देखि ५ बजेसम्म चल्ने महिला उद्यमी सम्मेलनको उद्घाटन वीरगंजका प्रमुख विजयकुमार सरावगीले गर्ने सम्मेलन संयोजक मनीषा सुनुवार श्रेष्ठले बताइन् ।
काठमाडौंबाहिर पहिलोपटक नेपालको मुख्य औद्योगिक एवं व्यापारिक नगर वीरगंजमा आयोजना हुने सो सम्मेलनले पर्सा, बारा क्षेत्रका नवप्रवेशी महिला उद्यमीहरूको हौसला बढाउने र नयाँ उद्यम गर्ने सोच बनाइरहेकाहरूको लागि पनि फलदायी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
सम्मेलनमा नमूनाको रूपमा उद्यम व्यवसाय अगाडि बढाएका महिलाहरूलाई सम्मान गरिनेछ भने बिहानदेखि साँझसम्म विभिन्न चरणमा विभिन्न उद्यमसँग सम्बन्धित विज्ञ तथा व्यवसायीहरूबीच प्यानल छलफलको कार्यक्रम पनि रहेको बताइएको छ ।
सयभन्दा बढी महिला उद्यमीहरूको सहभागिता हुने सम्मेलनमा सफल उद्यमीहरूको अनुभव, सङ्घर्ष, स्टार्टअप उद्यमीका अनुभव, प्रोत्साहनका उपाय, उद्यमका समस्या, चुनौती र समाधानसम्बन्धी विषयमा बेग्लाबेग्लै सत्रमा अन्तक्रिया हुनेछ ।
सम्मेलनमा एक दर्जनभन्दा बढी स्टल राखिने र नयाँ उद्यमीका लागि उपयोगी ज्ञान तथा क्षमता अभिवृद्धिबारे परामर्श पनि दिने आयोजक संस्था एनवाइइएफ वीरगंज शाखाका अध्यक्ष अनुप अग्रवालले जानकारी गराए ।
पत्रकार सम्मेलनमा वीरगंज लेडिज सर्कल नेपालकी निवर्तमान अध्यक्ष रश्मी दास, लक्ष्मी बैंक वीरगंजका प्रबन्धक रोहिणी आचार्यलगायतको सहभागिता थियो ।