लन्डन, ३ कात्तिक/सिन्ह्वा

बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । यहाँ गएको २४ घण्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ । यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महीनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो ।

उता यहाँ २४ घण्टायता मात्र कोरोना भाइरसका करीब ५० हजार सङ्क्रमित भेटिएका छन् । मङ्गलवार यहाँका सङ्क्रमितहरू करीब ५० हजारजनाको नजीक पुगेको थियो । बेलायतका अधिकारीहरूले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरूले सामाजिक क्रियाकलापहरूमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

बेलायतका स्वास्थ्य वैज्ञानिकहरूले पनि यो सुझाव दिएका छन् । उनीहरूले यहाँ हरेक दिन करीब ५० हजारजना सङ्क्रमित भेटिनु र मृत्युदर पनि हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भन्दै यहाँका सामाजिक क्रियाकलापहरूमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । यहाँ गएको २४ घण्टायता करीब ४४ हजारजना सङ्क्रमित भएका छन् । योसमेत गरी यहाँ सङ्क्रमित हुनेको सङ्ख्या ८५ लाख पुगेको छ ।

महीनौंपछि यहाँ ठूलो सङ्ख्याका सङ्क्रमितहरू पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमैं उपचाररत रहेका छन् ।

भारतमा थप १४ हजार ६२३ जना सङ्क्रमित
नयाँ दिल्ली/एएनआई

पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सङ्क्रमतिको कुल सङ्ख्या तीन करोड ४१ लाख ८ हजार ९९६ जना पुगेको छ ।

मङ्गलवार भारतमा कोरोनाका थप सङ्क्रमितको सङ्ख्या १४ हजार ६२३ जना भएकोमा सात हजार ५४३ जना केरला राज्यका रहेका थिए । केरलामा मङ्गलवार कोरोना सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएको थियो ।

भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या भने एक लाख ७८ हजार ९८ जना रहेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२९ दिनयताको सबैभन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमित सङ्ख्या कुल सङ्क्रमितको ०.५२ प्रतिशत मात्र रहेको बुधवार प्राप्त समाचारमा जनाइएको छ ।

मङ्गलवार १९ हजार ४४६ जना कोरोनामुक्त भएका थिए । यसैसँगै कोरोना भाइरसको महामारी शुरू भएयता हाल सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड ३४ लाख ७८ हजार २४७ रहेका सो मन्त्रालयले बुधवार जनाएको छ ।

कोरोना भाइरसको महामारी शुरू भएयता हाल सङ्क्रमणमुक्त दर ९८.१५ प्रतिशत भएको मन्त्रालयले बुधवार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५९ करोड ४४ लाख २९ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म ९९ करोड १२ लाख ८२ हजार २८३ मात्रा खोप लगाइएको पनि सो मन्त्रालयले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here