प्रस, वीरगंज, २ कात्तिक/

पर्सागढी नगरपालिकाले आव २०७५/७६ मा ठेक्का लगाएका दुईवटा खोलाको ठेक्का रकममा हिनामिना भएको समाचार छ ।

आव २०७६/७७ मा महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको बेरुजू प्रतिवेदनमा दुईवटा खोलाको ठेक्काबापत नपाको खातामा जम्मा हुनुपर्ने रकममध्ये रु २९ लाख ७९ हजार ८२५ अहिलेसम्म जम्मा नभएकोले ठेकेदारसँग असुल्न भनेको छ ।

सो नगरपालिकाभित्र पर्ने कर्जनिया र सिंघाही खोलाको ठेक्का अङ्कित कन्स्ट्रक्शन भिखमपुरले सकार गरेको थियो । कन्ट्रक्शन सञ्चालक सुरेश कुर्मीले आफूले ठेक्का सकारको सबै रकम बुझाइसकेको बताए । प्रतिवेदनले ठेकेदारसँग रकम असुल गर्नुपर्ने भन्दै आएको छ भने ठेकेदारले सबै रकम बुझाएको जनाएपछि रकम हिनामिना गरिएको पुष्टि भएको छ ।

यस विषयमा पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवसँग बुझ्दा ठेक्का रकममध्ये आधा रकम ठेकेदारले नदिएपछि सोही समय उनको बैंक ग्यारेन्टी रोक्का गरेको बताए । ठेकेदार कुर्मीलाई बाँकी रकम बुझाउन तरताकेदा गर्दा पनि निजले बेवास्ता गरेपछि बैंक ग्यारेन्टी नपाले रोक्का गरेको नगरप्रमुख यादवले बताए । केही महीनाभित्र नपाले असुल गर्नुपर्ने रकम बैंकले दिने नगरप्रमुख यादवको भनाइ छ ।

समाचार स्रोतका अनुसार ठेकेदारले ठेक्का सकार गरेपछि कम्तीमा तीन किस्तामा रकम बुझाउनुपर्ने हुन्छ । तर कर्मचारीहरूको मिलेमतो ठेकेदार कुर्मीले रकम नबुझाएको स्रोतले बताएको छ । ठेक्काको आधा रकम अहिलेसम्म नबुझाउनुमा कर्मचारी दोषी रहेको स्रोतको भनाइ छ ।

ठेकेदारसँग सोही बेला मिलेमतो गरी कर्मचारी तथा केही जनप्रतिनिधिले मिनहा दिने तयारी गरिरहेको बेला समाचार बाहिरिएपछि ठेकेदार पक्षले रकम नबुझाएको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here