काठमाडौं, १ कात्तिक/रासस

माल्दिभ्समा आयोजना भएको १३औं साफ च्याम्पियनशिप फूटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फूटबल टोलीका खेलाडी आज स्वदेश फर्केका छन् ।

साफ च्याम्पियनशिपको करीब २८ वर्षपछि नेपाल पहिलोपटक फाइनलसम्म पुगेको हो । माल्दिभ्सको मालेमा शनिवार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

फाइनलमा पराजित भएपछि पहिलोपटक साफको उपविजेता बनेको नेपाली फूटबल टोलीलाई युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराज तथा अखिल नेपाल फूटबल सङ्घ (एन्फा)का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

त्यस्तै, नेपाली टोलीलाई स्वागत गर्न फूटबल समर्थकको समेत बाक्लो उपस्थिति थियो । उनीहरूले ‘थ्याङ्क्यू अब्दुल्लाह’ भन्दै नारा लगाएका थिए । प्रशिक्षक अल्दुल्लाह अल्मुताइरी भने माल्दिभ्सबाटै कुवेत प्रस्थान गरेका छन् ।

अल्मुताइरीले फाइनल खेलपछि भने दुर्ई साता आराम गर्ने र त्यसपछि मात्र नेपाल फर्कने वा नफर्कने अन्तिम निर्णय लिने बताएका छन् ।

विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनलमा पुगेको थियो भने भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो । लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलङ्कालाई हराएको थियो ।

यस्तै, भारतसँग पराजित भएको नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो । १३औं संस्करणसम्म आइपुग्दा भारतले भने आठौंपटक साफ च्याम्यिनशिपको उपाधि चुम्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here