प्रस, वीरगंज, ३१ असोज/
जनता समाजवादी पार्टीका नेता एवं सङ्घीय सांसद प्रदीप यादवले पार्टीलाई आगामी दिनमा विगतझैं एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । वीरगंजमा आइतवार दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पार्टीभित्र र बाहिर अनेक भ्रमका खेतीपाती भए तापनि आफू पार्टीभित्रै सङ्घर्ष गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए । उनले पार्टीभित्रै सङ्घर्ष गरी नेतृत्व पङ्क्तिलाई सघाउने प्रतिबद्धता जनाए ।
“२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु, यो पार्टी मेरोलागि घर हो, नेता, कार्यकर्ता इँटा, सिमेन्ट र छड हुन्,” उनले भने, “केही राजनीतिक दलका नेताहरूले भनिरहेका छन्, प्रदीप यो पार्टीमा गइरहेका छन्, त्यो पार्टीमा गइरहेका छन्, तर ती सबै भ्रम छर्ने कुरा मात्र हुन् ।”
उनले आजको कार्यक्रममा जिल्लाकै पार्टीभित्रका केही नेताले नेता, कार्यकर्तालाई कार्यक्रममा नआउन फोनसमेत गरेको र रातभरि त्यो समूह जाग्राम नै बसेर कार्यक्रम प्रभावित पार्ने षड्यन्त्र गरेकामा उनीहरू विफल भएको बताए । उनले पार्टी अध्यक्षको बारेमा बोल्ने अन्य नेताहरूलाई मुखमैं जवाफ फर्काउने गरेको तर आफ्नै पार्टीमा चार वर्ष पहिले आएका नेताहरूले मौन बस्नु दुःखद कुरा भएको पनि बताए ।
उनले भने, “हाम्रै नेता तथा जनप्रतिनिधि अहिले अरू पार्टीको पञ्चायतीमा बसिरहेका छन्, मोटरसाइकलमा घुमिरहेको फोटो छ,” उनले भने, “जसपा पहिले पनि काङ्ग्रेस र कम्युनिस्ट पार्टीभन्दा न कमजोर थियो, न भविष्यमा हुनेछ,” उनले भने, “जसपाबाट पर्साले मन्त्री नपाएपछि केही युवा विद्यार्थीले पुतला दहन गरे, त्यो शैली राम्रो होइन, तर आफ्नै युवा विद्यार्थीहरूलाई सम्झाउनुभन्दा कारबाई गर्नेतर्फ केही नेताहरूको ध्यान छ, त्यो गलत हो, सच्चिएर हिंड्नुपर्छ ।” उनले जसपाका नेता, कार्यकर्ताले एकजुट भएर काम गर्दै गएमा आगामी दिनमा पार्टीले पर्साका नेता, कार्यकर्तालाई अवश्य मूल्याङ्कन गर्ने बताए ।
“पर्साले मन्त्रालय नपाएकोमा मलाई अध्यक्षसँग केही भन्नु छैन, तर हामीले आजको कार्यक्रमबाट एकताको सन्देश दिएर अघि बढ्नुपर्छ,” उनले भने, “पार्टीको हितविपरीत काम गर्ने बहुरुपिया नेताहरू आफैं पाखा लाग्छन् ।”
पार्टीका क्षेत्रीय प्रतिनिधि घनश्यामबाबू साहको अध्यक्षता तथा वीरगंज नगर अध्यक्ष ईश्वरचन्द्र यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू मोहनलाल चौधरी र टेकबहादुर शाक्य, प्रदेश सांसद जन्नत अन्सारी, अञ्जु यादव, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, पार्टीका नेता जरी लामालगायत १४ स्थानीय तहका वडास्तरबाट निर्वाचित जनप्रतिनिधि तथा नेता, कार्यकर्ताहरूको सहभागिता थियो ।