–वासुदेव पौडेल
गण्डकी, ३१ असोज/रासस

सुन्दा अचम्म लाग्न सक्छ, तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ स्थित गलाफु शिवालय मन्दिर, दशैंमा अचल बलि दिइने तीर्थस्थल हो । दशैंमा विभिन्न शक्तिपीठमा गरिने घटस्थापना फूलपाती, महाअष्टमी, महानवमी, कालरात्रि आदि सबै संस्कृतिलाई प्राचीनकालदेखि निरन्तरता दिंदै आइए पनि अन्य शक्तिपीठजस्तो यहाँ बोका–पाठा, राँगाको बलि दिइँदैन ।

दशैंमा अन्य शक्तिपीठमा गरिने बोका, पाठा, राँगा आदिको बलिको विकल्पमा अचल बलि दिने गरिएको मन्दिरका पुजारी एवं मिलन प्रगति टोल विकास संस्थाका अध्यक्ष पृथ्वीराज मल्ल ठकुरीले बताए। उनका अनुसार महाअष्टमी तथा महानवमीमा यहाँ नरिवल, कुभिन्डो, उखु, घिरौंला आदिको बलि दिइन्छ । मन्दिरमा कालरात्रिको पनि विशेष पूजा गरिन्छ । गलाफु मन्दिरलाई आफैं उत्पत्ति भएका देवताको मन्दिरका रूपमा लिइन्छ ।

किंवदन्ती अनुसार २०१७ साल चैत २१ गते मध्यरातमा यहाँ शिला फेला परेको थियो । चक्र स्वरूपमा रहेको शिलालाई शिव पाञ्चायनका रूपमा पूजा गर्ने गरिएको छ । अध्यक्ष ठकुरीका अनुसार तत्कालीन समयमा थप्रेक निवासी दुर्गादेवी गुरुङलाई समयसमयमा देवी चढ्ने गरेको र यहाँ शक्तिपीठ रहेको सपना आदिमा सङ्केत मिल्ने गरेछ ।

२०१७ साल चैत २१ गते मध्यरातमा अकस्मात् चक्र स्वरूपमा कँुदिएको शिला फेला परेपछि त्यो शिला स्थापना गरी २०१८ साल वैशाख ६ गते सानो मन्दिर निर्माण गरिएको हो । शिलालाई शिव पाञ्चायनका रूपमा पूजा गर्ने गरिन्छ । पछि विभिन्न समयमा मन्दिरको जीर्णाेद्धार हुँदै गएकोमा २०५० सालमा तत्कालीन पुजारी लालबहादुर मल्ल ठकुरी लगायतको सक्रियतामा अहिलेको स्वरूपमा मन्दिर बनेको हो ।

मन्दिरको पूजा व्यवस्थापनका लागि अन्य कुनै स्रोत नरहेको जानकारी दिंदै उनले पूजा सञ्चालनका लागि तत्कालीन सहायक मन्त्री नरबहादुर गुरुङले २०३७ सालमा गुठी संस्थानबाट मासिक ३० रुपियाँँका दरले वर्षको ३६० रुपियाँँ उपलब्ध गराउने व्यवस्था गरेको बताए । विसं २०४६ पछि संस्थानबाट उक्त रकम वृद्धि गरी मासिक २०० रुपियाँँका दरले वार्षिक दुर्ई हजार ४०० रुपियाँँ उपलब्ध हुँदै आएको थियो । स्थानीयको पहलसँगै गत वर्षदेखि उक्त रकम वृद्धि गरी वार्षिक ३० हजार रुपियाँँ प्राप्त हुन थालेको मल्लले जानकारी दिए ।

मन्दिरको ऐतिहासिकतालाई दृष्टिगत गर्दै पछिल्लो समयमा स्थानीय सरकारले पनि चासो दिन थालेको छ । शुक्लागण्डकी नगरपालिका– १ बाट मन्दिरको संरक्षण र विकासका लागि गत वर्ष एक लाख रुपियाँँ उपलब्ध गराइएकोमा उक्त रकमबाट पर्यटन ट्रस्ट भवन निर्माण गरिएको मल्लले जानकारी दिए । “भूकम्पले ठाउँठाउँमा बिग्रे, भत्केका कारण मन्दिर मरम्मत गर्नुपर्ने भएको छ, छानाका ढुङ्गा पनि फुट्ने र खलबलिने भएका छन्”–उनले भने–“विसं २०२२ मा पुराण लगाउँँदा निर्माण गरिएको पाटी पनि जीर्ण बनेकोले तत्काल मरम्मत गर्नुपर्ने देखिएको छ।”

शुक्लागण्डकी नगरपालिका–१ भित्र रहेको गलाफु मन्दिरसहित थप्रेक कोट आदि धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षणलाई वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष रविचन्द्र पौडेलले बताए । गलाफु मन्दिर आसपासमा बस्ती पनि सानो रहेका कारण अपेक्षित विकास गर्न नसकिएको बताउँदै उनले वडाभित्रका धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र विकासका लागि थप्रेक कोट पर्यटन विकास समिति गठन गरी त्यसैमार्फत आवश्यक काम अघि बढाउने सोच राखिएको बताए ।

वडाध्यक्ष पौडेलका अनुसार यस क्षेत्रबाट धौलागिरि हिमालदेखि लमजुङ गोरखासम्मका हिमाल हुँदै पर्यटकीय नगरी पोखरा, तनहुँको सदरमुकाम दमौली आदिलाई एकसाथ नियाल्न सकिन्छ । धार्मिकरूपमा यहाँका विभिन्नस्थलको आफ्नै विशिष्टता रहेको जानकारी दिंदै उनले धार्मिक आस्था र विश्वासका थप्रेक कोट, गलाफु शिवालय, माईको थान आदि र यहाँबाट देखिने हिमाली तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको बताए । थप्रेकमा रहेका ठूला–ठूला गह्रा, पोखरी पनि यहाँका पहिचान हुन् । धार्मिकस्थलको प्रवद्र्धन र विकाससँगै काठेपीपल, सिलिङ्गे, पोखरी थोक, अर्चलेलगायत स्थान दृश्यावलोकनका लागि आकर्षक गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने देखिएको यहाँका स्थानीयवासी बताउँछन् ।

शुक्लागण्डकी नगरपालिका–१ को धार्मिक पर्यटकीयस्थलको उपयोग गर्नुपर्ने अमरज्योति आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक पुष्पराजशर्मा पौडेल बताउँछन् । गलाफु, थप्रेक कोटजस्ता स्थलका साथै वडाका पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा पु¥याउन सकेमा यस क्षेत्रको समृद्धि र विकासमा टेवा पुग्ने विश्वास लिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here