प्रस, निजगढ, ३१ असोज/
निजगढ नगरपालिकाले नदीजन्य पदार्थ दहत्तर बहत्तर उत्खनन, सङ्कलन, बिक्री वितरणका लागि लगाएको ठेक्का निजगढ नपाको हिमानी सप्लायर्सले पारेको छ ।
निजगढ नपाले पहिलोपटक ईबिडिङमार्फत सोको ठेक्का सकारका लागि सूचना आह्वान गरेको थियो । उक्त सूचना आह्वान गरेसँगै दुईवटा ठेकेदार कम्पनीले ठेक्का सकार गर्न भन्दै ठेक्का भरेपछि हिमाली सप्लायर्स निजगढले मूल्य अभिवृद्धि करसहित १५ करोड २७ लाख ३ हजार ८६६ रुपैयाँ ११ पैसामा ठेक्का पारेको निजगढ नगरपालिकाले जनाएको छ ।
विनोद साह निर्माण सेवा, कलैया, बाराले भरेको मूअकसहित उक्त ठेक्का रकमभन्दा ७७ लाख ६७ हजार ५९५ रुपैया ५० पैसा बढी रकममा हिमाली सप्लायर्सले ठेक्का पारेको निजगढ नपाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।
एक साताभित्र थप सबै प्रक्रिया पूरा गरी नगरपालिकाको कार्यसमितिको बैठक बसी ठेकेदारलाई काम गर्न अनुमति दिइने निनपाले जनाएको छ । गत वर्षको बकैया, धन्सार खोलासहित थप तीनवटा चुरे क्षेत्रमा रहेको लाल–भक्तलाल खोला, बगर खोला, शक्ति खोला गरी कुल १ करोड ६१ लाख १ हजार ९६९ घनफिट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, बिक्री वितरण गर्न निजगढ नगरपालिकाले मूअकबाहेक १२ करोड ८८ लाख १५ हजार ७५२ रुपैयाँ न्यूनतम अङ्क रकम तोकी सूचना प्रकाशित गरेको थियो ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको स्थलगत अनुगमनपछि उक्त परिमाणलाई संशोधन गरी १ करोड ५६ लाख २२ हजार ६७८ क्यूफिटमा झारिएको थियो भने १२ करोड ४९ लाख ८१ हजार ४२४ रुपैयामा ठेक्का झरेको थियो । यस ठेक्कामार्फत नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, बिक्री वितरण गर्न निजगढ नपाले वन क्षेत्र, चुरे क्षेत्र र चुरे संरक्षित क्षेत्रभित्र कुनै जानकारी र सहमति नलिई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) तयार गरेको भन्दै डिभिजन वन कार्यालय बाराले असहमति जनाउँदै आइरहेको छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले स्थलगत अनुगमन गरी परिमाण घटाए पनि यता वन कार्यालयको असहमति भने अझै कायमै रहेको छ ।
जिल्ला अनुगमन समिति बाराको यही असोज ६ गते बसेको बैठकले प्रचलित कानूनको अधीनमा रही आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै निजगढ नपाले ठेक्काको प्रक्रिया अघि बढाइ ठेक्का खोलेको हो ।
वन कार्यालयको असहमतिका कारण तीनपटक ठेक्काको म्याद थप गर्नुपरेको थियो । वन क्षेत्रमा पर्ने नदी, खोलाहरूबाट जबरजस्ती नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गरे वन ऐन अनुसार कारबाही गर्ने डिभिजन वन कार्यालय बाराले सूचनासमेत जारी गरिसकेको छ ।