प्रस, वीरगंज, २२ असोज/
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज–१२ मुर्ली नवकाटोलामा रहेको कब्रिस्थानबाट नियन्त्रणमा लिएको एकजना युवतीको शव शल्यपरीक्षणका लागि काठमाडौं पठाएको छ ।
युवतीको मृत्यु शङ्कास्पद देखिएको र सोही अनुसारको सूचना पाएको कारण नारायणी अस्पताल वीरगंजमा शल्यपरीक्षण नगरी शिक्षण अस्पताल महाराजगंज, काठमाडौं पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । उनले बिहार पश्चिमी चम्पारण इनर्वा थाना खमिया निवासी १८ वर्षीया युवती जयुनत खातुनको अन्तिम संस्कार वीरगंजमा हुन लागेको र अन्तिम कर्ममा परिवारका सदस्य मात्रको सहभागिता रहेको सूचनाको आधारमा गाड्ने क्रममा शव बरामद भएको थियो ।
प्रवक्ता खनालले अन्तिम संस्कारमा सहभागीमध्ये चारजनालाई नियन्त्रणमा लिएर सोधपूछ गरिएको बताए ।
युवतीको मृत्यु कालगतिले नभएको र सो कर्तुत लुकाउने अभिप्रायले परिवारका सदस्यहरूले गुपचुप अन्तिम संस्कार गर्न खोजेको प्रहरीले आशङ्का व्यक्त गरेको छ ।
मृतक युवती जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारसँग सम्बन्धित रहेको पाइएको छ । अध्यक्ष मियाँका नाति, मृतककी आमा, बुबासमेत केहीलाई प्रहरीले नियन्त्रणमा राखेको छ । घटना विवरण अनुसार मृतक युवती खातुन जगरनाथपुर गापाका अध्यक्ष मियाँका कान्छा छोरा जाकिर मियाँ धुनियाकी सहोदर साली हुन् । उनी केही समयदेखि आफ्नी दिदीको घरमा बस्दै आएकी बुझिएको छ । जयुनत जबरजस्ती करणीको शिकार भएकी र अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक युवतीको घाँटीमा नीलडाम पनि छ । मृतकको घाँटीमा नीलडामसमेत रहेकोले शवको प्रकृति शङ्कास्पद रहेको प्रहरी उपरीक्षक पाण्डेले बताए । प्रहरीलाई प्राप्त सूचना अनुसार मृतकका भिनाजु जाकिर मियाँ धुनियाले जबरजस्ती करणी गरेको र शवको व्यवस्थापन गर्न वीरगंज पठाएको अनुमान गरिएको छ ।
यसबारे गापा अध्यक्ष जालिम मियाँसँग बुझ्दा उनले प्रहरीको दाबीमा कुनै सत्यता नरहेको बताए। मृतकका आमा र बुबा प्रहरीको नियन्त्रणमा छन् । उनीहरूले नै सत्यतथ्य बताउने गापा अध्यक्ष मियाँले बताए । घरमा झुन्डिन लाग्दा मृतकको आमाले देखेपछि उपचारको लागि वीरगंज ल्याउँदा बाटोमा मृत्यु भएको र गाउँ टाढा पर्ने भएकोले वीरगंजमा अन्तिम संस्कार गर्न लागेको उनले प्रस्ट्याए । अध्यक्ष मियाँले मृतकको मानसिक स्थिति ठीक नरहेको बताएका छन् । घटनाका मुख्य आरोपी जाकिर मियाँ अहिले फरार छन् ।