प्रस, परवानीपुर, २२ असोज/
कार बोक्ने विशेष रेलबाट चेन्नईबाट रामगढवा हुँदै वीरगंज आएको रिनल्ट ब्रान्डको ११० वटा कार वीरगंज भन्सारबाट जाँचपास भएको छ ।
वीरगंज भन्सार मातहतको आइसिपी भन्सार नाकाबाट ती कारहरू शुक्रवार जाँचपास भई काठमाडौंतर्फ गएको वीरगंज भन्सारले जनाएको छ ।
एउटाको भारु १६ लाख ५३ हजार ३१७ मूल्य परेको छ । २९ करोड ९ लाख ८३ हजार मूल्य परेको ११० वटा डिजेल/पेट्रोल इन्जिन कार करीब २१ करोड राजस्व बुझाएर वीरगंज भन्सारबाट जाँचपास भई काठमाडौं लगिएको वीरगंज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले जानकारी गराए ।
उनका अनुसार ती गाडीहरूमा ८० प्रतिशत भन्सार महसूल, ६० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत मूअक र ८ प्रतिशत सडक सम्भार दस्तुर गरी गरी कुल २१ करोडको हाराहारीमा राजस्व सङ्कलन भएको उनले बताए । दशैं, तिहारको लागि पछिल्लो समय रिनल्ट कारको माग बढेकाले रिनल्टको नेपालका लागि आधिकारिक विक्रेता एडभान्स अटोमोबाइल्स प्रालिले आयात गरेको हो।
विशाल समूह अन्तर्गतको एडभान्स अटोमोबाइल्सले पहिले सडक र रेलमार्ग भएर ड्राइपोर्टसम्म कार आयात गथ्र्यो भने अहिले चेन्नईबाट निजी कार ढुवानी गर्ने रेलबाट रक्सौल नजीकैको रामगढवासम्म कार ल्याएको थियो भने रामगढवाबाट बाइरोड ती कारहरू बिहीवार आइसिपी भन्सार नाका प्रवेश गरेका थिए ।
नेपालमा कोरोना महामारी कम भएकोले पछिल्लो समय कार आयात बढेको भन्सार अधिकारीहरूले बताएका छन् ।