प्रस, वीरगंज, १९ असोज/
प्रदेश २ मा कोरोना महामारी नियन्त्रणोन्मुख देखिएको छ । प्रदेश २ को स्वास्थ्य निर्देशनालय जनकपुरको तथ्याङ्क अनुसार असोज १९ गते जम्मा सातजना नयाँ सङ्क्रमित भेटिएका छन् भने हिजोसम्ममा ११३ जना गरी कुल १२० जना सक्रिय सङ्क्रमित रहेको तथ्याङ्कले देखाएको छ ।
दैनिक १० जनाभन्दा कम नयाँ सङ्क्रमित थपिएकाले कोरोना सङ्क्रमितहरूको सङ्ख्या कम हुँदै गएको हो । १२० जनामध्ये एकजना अस्पतालमा उपचाररत छन् भने आठजना सामान्य उपचार गराइरहेका छन् । बाँकी सबैजनाको घरमैं होम आइसोलेशनमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ चिकित्सक डा कमलेश्वरप्रसाद यादवले जानकारी गराए । सप्तरीको अस्पतालमा एकजना एचडियूमा उपचार गराइरहेका छन् भने बाँकी आठजना महोत्तरीदेखि सिराहासम्मका सामान्य उपचार भइरहेको छन् ।
बाँकी सर्लाहीदेखि पर्सासम्म चार जिल्लामा अस्पतालमा कोरोना सङ्क्रमित भर्ना भएर उपचार गराउनेको सङ्ख्या शून्य छ ।
त्यसैगरी, जिल्ला तहमा सप्तरीमा १७, सिराहामा ९, धनुषामा २७, महोत्तरीमा १७, सर्लाहीमा ६, रौतहटमा १९, बारामा ४ र पर्सामा १२ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । कोरोना महामारीमा प्रदेश २ का आठ जिल्लामा पर्सादेखि सप्तरीसम्म क्रमशः १३०, १७६, १२८, ९३, ९१, १३१, १३३, १५५ गरी कुल एक हजार ३८ जनाको ज्यान विगतका दुईवटा कोरोना लहरमा गइसकेको छ ।