भारतलाई छोएको एउटै वडामा भेटिए २२ जना सङ्क्रमित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ भदौ/
    भारतीय सिमानासँग टाँसिएको नेपालको एक वडामा एकै दिन २२ जना सङ्क्रमित भेटिएका छन्। प्रदेश २ को रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहर्वामा २२ जना सङ्क्रमित भेटिएका हुन्।
    नारायणी अस्पताल पिसिआर प्रयोगशालामा मङ्गलवार भएको २९० वटा स्वाब नमूना परीक्षणमा ९ महिला र २८ पुरुष गरी कुल ३७ जनामा कोरोना सङ्क्रमण भेटिएको हो। ४ देखि ६७ वर्ष उमेर समूहका ३७ जना सङ्क्रमितमध्ये पर्साका ६, बाराका ९ र रौतहटका २२ जना रहेका छन्।
    रौतहटका २२ जना सङ्क्रमित एकै पालिकाको एकै वडाका बासिन्दा हुन्। सो वडालाई सिल गरी कोरोना सङ्क्रमितलाई व्यवस्थापन गर्नेतर्फ गाउँपालिका तयारीमा जुटेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले बताए। “भारतको बसबिटा र मेजरगंजसँग टाँसिएको गाउँ हो बडहर्वा, यहाँका सयौं मानिस सधैं भारतीय बजारमा सामान किन्न ओहोरदोहोर गर्छन्,” अध्यक्ष साहले भने, “हामीलाई पहिलेदेखि नै शङ्का लागेको थियो, त्यस कारण हरेक घर एक पिसिआर परीक्षण अघि बढाएका थियौं।”
    रौतहटबाट आएको २६७ वटा स्वाब नमूना परीक्षण गर्दा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको रौतहटका कोभिड फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी गराए। रौतहटमा हालसम्म पाँचजना सङ्क्रमितको मृत्यु भइसकेको छ भने हालसम्म १ हजार ७ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये ५ जना कोभिड अस्पतालको आइसोलेशनमा, २५ जना सामुदायिक आइसोलशेनमा, ८१० जना होम आइसोलशेनमा र २९२ जना होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।
    मङ्गलवारको कोरोना रिपोर्ट अनुसार बाराका ९ जनामध्ये कलैया १९ नं वडाका १ जना, ९ का १ जना, जीतपुर–सिमरा उमनपा वडा नं २ का १ जना, बारागढी गापाका १ जना, इलाका प्रहरी कार्यालय बारागढीका १ जना, कोल्हवी नगरपालिकाका ३ जना जना, पर्साका ६ जनामा वीरगंज–११ का २ जना, २८ का १ जना, ३२ का १ जना, पटेर्वासुगौली–८ का १ जना र चैनपुर–८ पर्साका १ जना गरी ६ जना रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।