सञ्जीव मिश्र, विन्ध्यवासिनी, १८ असोज/
विन्ध्यवासिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामबाबू साह सोमवारदेखि कार्यालयमा हाजिर भएका छन् ।
आयुर्वेद शाखा प्रमुख अधिकृतमा कार्यरत साहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विन्ध्यवासिनी गापाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएपछि उनी आजदेखि कार्यालयमा हाजिर भएका हुन् ।
विन्ध्यवासिनी गापाको कार्यालय बहुअर्वाभाठामा आज हाजिर भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई गापा प्रमुख श्रीलाल साह कानू, उपाध्यक्ष किरणदेवी गुप्ता, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा प्रमुख कपिल लामिछाने, सामाजिक शाखा प्रमुख नरेश चौहान, इन्जिनीयर सन्तोष साह, योजना शाखा प्रमुख सीताराम पण्डित, आइटी सन्दीप साह, रवीन्द्रनाथ तिवारी, जसपाका स्थानीय नेता गौरीशङ्कर साह र कर्मचारीले गम्छा, फूलमाला र अबिरको टीका लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा गापा प्रमुख कानूले अधिकृत साहलाई कसैको दबाबमा नपरी कानून अनुसार कामकाज गर्न सुझाए । उनले सातामा एकपटक कर्मचारी बैठक राखेर समन्वय गरी अगाडि बढ्न आग्रह गरे । अधिकृत साहले जनचाहना र कानून अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । विन्ध्यवासिनी गापामा यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मुन्ना रौनियारले निर्वाह गरेका थिए ।