कास्की, १४ असोज/रासस
पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फूटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थान कायमै राखेको छ । अखिल नेपाल फूटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिता अन्तर्गत बुधवारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा रहन सफल भएको हो।
क्यासललाई जित दिलाउने क्रममा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक/एक गोल गरे । लिगका छ खेल खेलेको क्यासलको १६ अङ्क छ । हालसम्म अङ्क जोड्न नसकेको झरना लिग तालिकाको पुछारमा छ ।
यसैगरी पहिलो खेलमा शङ्खमूल फूटसल लुम्बिनी फूटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शङ्खमूलका छ खेलबाट १४ अङ्क छन् । शङ्खमूलको जितमा विवेक पण्डित, कृजल खड्का, सागर तेन्जेले गोल गरे ।
लुम्बिनीका रूपेन बराइली र रेफ्री महर्जनले गोल गरे पनि टोलीलाई विजय दिलाउन सकेनन् । लुम्बिनीका छ खेलबाट चार अङ्क रहेका छन् । बुधवारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्स प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौं स्थानमा रहन सफल भयो । प्रभातफेरी तालिकाको आठौं स्थान छ । यस्तै ढुकु फूटसल हब सातौं स्थानमा छ भने लुम्बिनी फूटसल नवौं स्थानमा छ । लिगमा देशका सात प्रदेशबाट १० टोलीको सहभागिता छ ।