निजगढ नपामा कर्मचारी छनोटमा त्रुटि, अनुभवपत्र बढीको पेश


प्रस, निजगढ, २३ भदौं/
    निजगढ नगरपालिकाद्वारा माग गरिएको फिल्ड सहायक पदमा उम्मेदवारको कार्य अनुभव पत्र त्रुटिपूर्ण रहेको रहस्य खुलेको छ।
    निजगढ नपा–७ का कविर पौडेलले पेश गरेको कार्य अनुभव पत्र बढाएर बनाएको पाइएको छ। निजगढ–९ मा रहेको निजगढ तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाबाट दुई वर्षको कार्य अनुभव पत्र बनाएको रहस्य खुलेको हो। उनले फिल्डमा रकम सङ्कलनको काम मात्र गरेको सहकारी संस्थाका जिम्मेवार एक सदस्यले बताउँदै बढीमा एक वर्ष मात्रै काम गरेको बताए।
    उनका आफन्तले दुई वर्षको कार्य अनुभव पत्र बनाउन निकै आग्रह गरेपछि आफूलाई र संस्थालाई कुनै समस्या आए त्यसको जिम्मेवारी स्वयम् उनीहरूले लिनुपर्ने भन्दै आफूले दुई वर्षको अनुभव कार्य पत्र दिएको संस्थाकी जिम्मेवार एक सदस्यले बताइन्।
    आफूलाई झुक्याएर जागीर खानका लागि कार्य अनुभव पत्र बनाउन आएको थाहा नपाएकोले कसैका निम्ति उद्धार वा सेवा दिंदा अहिले आफू र संस्थाको समेत बदनामी हुन थालेको उनले दुःखेसो पोखिन्।
    यता सो संस्थाकी अर्का जिम्मेवार सदस्यले भने आफू दुई कार्यकाल झन्डै चार वर्ष संस्थामा रहे पनि सो व्यक्तिले संस्थामा काम गरेको थाहा नभएको बताएका छन्। यसरी कार्य अनुभवको पत्र कसैलाई दिंदा संस्थाको बैठकमा समेत कुरा नउठेको र आफूलाई समेत थाहा नभएको उनले जानकारी दिए।
    जिल्ला प्रशासनको निर्देशनपछि यता सो प्रकरणमा निजगढ नपामा छानबीन समिति गठन भएको छ। यसअघि सो छनोट समितिले सबै काम प्रक्रिया पूरा गरी सम्पन्न गरेको निजगढ नपाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले दाबी गर्दै प्रतीकलाई बताएका थिए। सो घटनाको यथाशीघ्र छानबीन गर्नुपर्ने देखिए पनि निजगढ नगरपालिकाले छानबीनमा ढिलाइ गरिरहेको उजूरीकर्ताहरूको भनाइ छ। सो छनोटमा उत्र्तीण भएका पौडेलद्वारा पेश गरिएका सम्पूर्ण कागजातको छानबीनको माग गरे पनि गत भदौ ११ गते नियुक्ति दिई एक सातासम्म निजगढ नगरपालिकाले काममा खटाएको थियो। पछि मात्र निजको नियुक्तिपत्र निजगढ नगरपालिकाले फिर्ता लिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here